सुन्दरहरैंचा–८ सलकपुरमा रेश्नल एकेडेमीद्वारा न्यानो कपडा वितरण
सुन्दरहरैंचा/ पुस २४ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–८ सलकपुरमा अवस्थित रेश्नल एकेडेमीले सामाजिक उत्तरदायित्व अन्तर्गत सोही स्थानमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। जाडो मौसम बढ्दै गएको अवस्थामा विपन्न समुदायका विद्यार्थीहरूलाई लक्षित गरी विद्यालय परिसरमै कार्यक्रम आयोजना गरी ट्राउजर र स्वीटर वितरण गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। न्यानो कपडा पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए।
रेश्नल एकेडेमीका संस्थापक प्रिन्सिपल सूर्य खबासका अनुसार, जाडोका कारण कुनै पनि विद्यार्थीको स्वास्थ्य र पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। उनले शिक्षा कक्षाकोठाभित्र मात्र सीमित नहुने र सामाजिक सेवामूलक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
सिंहवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक जमानसिंह थापाले रेश्नल एकेडेमीप्रति आभार प्रकट गर्दै विपन्न परिवारका विद्यार्थीहरूका लागि यस्तो सहयोग समयसापेक्ष र सराहनीय रहेको बताए।
यस सहयोगले विद्यार्थीहरूलाई जाडोबाट जोगिन मद्दत पुगेको र नियमित विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पर्ने विद्यालय प्रशासनको भनाइ छ। स्थानीय समुदायले रेश्नल एकेडेमीको मानवीय कार्यको प्रशंसा गरेका छन्।
