लागुऔषधको दलदल : युवाको भविष्यदेखि समाजको सुरक्षासम्म चुनौती

काठमाडौं । एकपटक मात्र हो भन्ने साथीको आग्रहमा सुरु भएको लागुऔषध सेवनले चितवनका रवीन्द्र विष्टको जीवन अन्धकारतर्फ धकेल्यो। पढाइमा उत्कृष्ट रहेका उनी दुर्व्यसनमा फसेपछि परिवारसँग टाढिए, भविष्य अन्योलमा पर्यो र अपराधको बाटोसम्म सोच्न बाध्य भए।

तर तीन वर्षको उपचार र पुनर्स्थापनापछि उनले नयाँ जीवन सुरु गरे। अहिले आफ्नै व्यवसाय सञ्चालन गर्दै उनी अन्य युवालाई लागुऔषधको जोखिमबारे सचेत गराइरहेका छन्। रवीन्द्रजस्तै धेरै युवाहरू साथीको प्रभाव, मानसिक तनाव र उत्सुकताका कारण किशोर अवस्थामै दुर्व्यसनमा फस्ने गरेका छन्। विशेषज्ञहरूका अनुसार यो समस्या व्यक्तिगत मात्र नभई सामाजिक सुरक्षा र अपराधसँग समेत जोडिएको छ।

प्रहरी तथ्यांकले लागुऔषधको लतले घरेलु हिंसा, सवारी दुर्घटना, लुटपाट र हत्याजस्ता गम्भीर अपराध बढाउन भूमिका खेलेको देखाउँछ। कारागारमा पनि लागुऔषधसम्बन्धी मुद्दामा हजारौँ कैदी सजाय भोगिरहेका छन्।

नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा उपचार र पुनर्स्थापनाको आवश्यकता पनि बढेको छ। देशभर दुई सयभन्दा बढी पुनर्स्थापना केन्द्र सञ्चालनमा रहे पनि परिवारको साथ, सकारात्मक संगत र समाजको सहयोग बिना यो समस्या नियन्त्रण गर्न कठिन हुने विज्ञहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार दुर्व्यसनीलाई अपराधीका रूपमा मात्र होइन, उपचार र सहयोग आवश्यक पर्ने व्यक्तिका रूपमा हेर्न सके लागुऔषधको समस्यालाई प्रभावकारी रूपमा न्यूनीकरण गर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *