स्वदेशमै अवसर खोज्ने युवाका लागि बिर्तामोडमा रोजगारको नयाँ ढोका खुल्दै, दुई हजारभन्दा बढी सहभागी हुने अपेक्षा

झापा । वैदेशिक रोजगारीको आकर्षण बढ्दै गएका बेला स्वदेशमै रोजगारीका अवसर खोजिरहेका युवालाई रोजगारदातासँग प्रत्यक्ष जोड्ने उद्देश्यले झापाको बिर्तामोडमा पहिलोपटक दुईदिने रोजगार मेला आयोजना हुने भएको छ। स्थानीय श्रम बजारमा उपलब्ध अवसर र जनशक्तिबीचको दूरी घटाउने लक्ष्यसहित आयोजना हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आगामी जेठ ३० र ३१ गते बिर्तामोडस्थित अतिथि सदनमा रोजगार मेला सञ्चालन गरिने भएको हो। नगरपालिकाका अनुसार यो मेला केवल औपचारिक कार्यक्रम नभई रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई एउटै थलोमा ल्याएर प्रत्यक्ष संवाद तथा अवसर आदानप्रदान गराउने महत्वपूर्ण प्रयास हो।

नेपालमा पछिल्ला वर्षहरूमा बढ्दो बेरोजगारी र युवाको वैदेशिक पलायन गम्भीर सामाजिक तथा आर्थिक चुनौतीका रूपमा देखिएको छ। पर्याप्त सीप र क्षमता हुँदाहुँदै पनि रोजगारका अवसरबारे जानकारी नपाउनु, रोजगारदाता र काम खोज्ने व्यक्तिबीच प्रत्यक्ष पहुँच नहुनु तथा श्रम बजारको आवश्यकता र उपलब्ध जनशक्तिबीच असन्तुलन रहनु जस्ता समस्याले धेरै युवालाई विदेशिने निर्णय गर्न बाध्य बनाएको अवस्था छ। बिर्तामोड नगरपालिकाको यो पहललाई त्यस्ता समस्याको स्थानीय स्तरबाट खोजिएको व्यवहारिक समाधानका रूपमा हेरिएको छ।

मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा कम्पनीका २५ वटा स्टल रहनेछन्। ती स्टलमार्फत रोजगारदाताले आफूलाई आवश्यक जनशक्तिको माग, कामको प्रकृति, आवश्यक योग्यता, सीप तथा आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी गराउनेछन्। रोजगारी खोजिरहेका व्यक्तिहरूले एउटै स्थानमा विभिन्न कम्पनीका प्रतिनिधिसँग भेटघाट गर्दै आफ्नो योग्यता र अनुभवअनुसारका अवसरबारे जानकारी लिन सक्नेछन्।

मेलाका सहजकर्ता सेवक बजगाईँका अनुसार कार्यक्रममा दुई हजारभन्दा बढी युवाको सहभागिता रहने अपेक्षा गरिएको छ। उनका अनुसार रोजगार मेला रोजगार खोज्ने नागरिक र दक्ष जनशक्तिको आवश्यकता भएका उद्योग–व्यवसायलाई जोड्ने साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

नगरपालिकाका अनुसार १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी मेला आयोजना गरिएको हो। शिक्षित तथा अशिक्षित, दक्ष र अदक्ष सबै प्रकारका नागरिकले मेलाबाट लाभ लिन सक्नेछन्। विशेषगरी अध्ययन पूरा गरी रोजगारीको खोजीमा रहेका युवा, सीपमूलक तालिम लिएका व्यक्ति, पढाइसँगै पार्टटाइम काम गर्न चाहने विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै अवसर खोजिरहेका नागरिक तथा अतिरिक्त आम्दानीको अवसर खोज्नेहरूका लागि मेला उपयोगी हुने विश्वास गरिएको छ।

रोजगार मेलालाई प्रभावकारी बनाउन नगरपालिकाले यसअघि उद्योगी–व्यवसायी, रोजगारदाता, विभिन्न संघसंस्था तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ। कार्यक्रममा सहभागी पक्षहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सरकारी र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले निजी क्षेत्रलाई आवश्यक पर्ने दक्ष तथा अर्धदक्ष जनशक्ति खोज्न र कामको खोजीमा रहेका युवालाई अवसरसँग जोड्न रोजगार मेला प्रभावकारी माध्यम बन्ने बताए। उनले स्थानीय उद्योग तथा व्यवसायमा उपलब्ध रोजगारीका अवसरको पहिचान गरी युवालाई स्वदेशमै भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्य पनि मेलाले बोकेको बताए।

बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले युवालाई रोजगार तथा स्वरोजगारका अवसरसँग जोड्न स्थानीय तहले नीतिगत तथा व्यवहारिक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। उनका अनुसार रोजगार मेला युवालाई सीप र अवसरसँग जोड्ने एउटा महत्वपूर्ण सुरुआत हो।

बिर्तामोड नगरपालिकाका उप–सचिव तिलचन भण्डारीको अध्यक्षतामा आयोजित तयारी तथा छलफल कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा नगरपालिकाको रोजगार शाखाका प्रमुख होमनाथ भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ सहजकर्ता सेवक बजगाईँ, उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपाने तथा वडाध्यक्ष बुढाथोकीले दिएका थिए। कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गरेका थिए।

नगरपालिकाले रोजगार मेलामा सहभागी हुन इच्छुक नागरिकलाई आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता, अनुभव तथा सीपसँग सम्बन्धित आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ।

स्थानीय सरकारको सक्रियता, निजी क्षेत्रको सहकार्य र युवाको सहभागिताबाट बिर्तामोडको पहिलो रोजगार मेला केवल एक कार्यक्रममा सीमित नरही स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अभियानका रूपमा सफल हुने अपेक्षा गरिएको छ। स्वदेशमै अवसर खोज्ने वातावरण निर्माण गर्न यस्ता प्रयासले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *