पुल नबन्दा बाढीले फेरि रोकेको यात्रा, दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
खोटाङ । वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलाको मोटरेबल पुल सम्पन्न नहुँदा बाढीले फेरि मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध बनाएको छ। यद्यपि स्थानीय तह, सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासपछि सडक पुनः सञ्चालनमा आएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा जेठ २२ गतेको वर्षापछि आएको लेदोसहितको बाढीले करिब २५ मिटर सडक बगाउँदा यातायात सेवा प्रभावित भएको थियो। अवरुद्ध सडक खुलाएसँगै भोजपुर–दिक्तेल–काठमाडौँ र काठमाडौँ–दिक्तेल–भोजपुर रुटमा चल्ने बस, जिप तथा मोटरसाइकल पुनः सञ्चालनमा आएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेनाको रणभीम गण मुडे ब्यारेक, जिल्ला प्रहरी कार्यालय खोटाङ र स्थानीयवासीको समन्वयमा सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
२०७३ सालमै निर्माण सुरु गरिएको पङ्खुखोलाको मोटरेबल पक्की पुल अझै सम्पन्न हुन नसक्दा प्रत्येक वर्ष वर्षायाममा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ। पुल निर्माणको काम लामो समयदेखि अधुरै रहँदा सवारीसाधन अहिले पनि खोलाबाटै वारपार गर्न बाध्य छन्। स्थानीयले पुल निर्माण शीघ्र सम्पन्न गरी बाढीका कारण पटक–पटक दोहोरिने यातायात अवरोधको स्थायी समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
