विदेशबाट फर्किएका युवाले तरकारीखेतीमा देखाए सम्भावना, बराहक्षेत्रमा गाउँमै रोजगारी बढ्दै
सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू व्यावसायिक तरकारीखेतीमा आकर्षित हुन थालेपछि सुनसरीको बराहक्षेत्र क्षेत्रमा गाउँमै रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना हुन थालेका छन्। एक समय बाँझो रहने बारी अहिले व्यावसायिक तरकारी उत्पादनका केन्द्रमा परिणत भएका छन्।
बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी तीन वर्ष विदेश बसेर फर्किएपछि विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा तरकारीखेती गर्दै आएका छन्। काँक्रो, गोलभेँडा, बोडी, घिरौँला र कोभी उत्पादन गर्दै आएका उनले अहिले मासिक ७० हजार रुपैयाँभन्दा बढी बचत गर्न सफल भएको बताए।
उनका अनुसार विदेशको कमाइभन्दा आफ्नै गाउँमा परिवारसँग मिलेर गरेको कृषि व्यवसाय बढी प्रभावकारी र लाभदायक बनेको छ। “मिहिनेत गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने।
बराहक्षेत्र–८ तीनकुनेका युक्ति चौधरीले पनि एक कट्ठा जमिनबाट सुरु गरेको तरकारीखेतीलाई विस्तार गर्दै चार बिघासम्म पुर्याएका छन्। ‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आएका चौधरीले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको बताए। उनले जैविक मलको प्रयोग गरी गुणस्तरीय तरकारी उत्पादन गर्दै आएका छन्।
स्थानीय किसानका अनुसार उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्रलगायत बजारमा सहजै बिक्री हुने गरेका छन्। व्यापारीहरू फार्ममै पुगेर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको उनीहरूको भनाइ छ।
सुनसरी कृषि ज्ञान केन्द्रले उन्नत बीउबिजन, सिँचाइ उपकरण, प्राविधिक तालिम तथा अनुदानमार्फत किसानलाई सहयोग गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले उत्पादन वृद्धि र किसानको आम्दानी विस्तारमा सकारात्मक प्रभाव पारेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बताए।
बराहक्षेत्र नगरपालिकाका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीमा गएका केही युवा पनि कृषि क्षेत्रमा फर्कन थालेका छन्। गाउँमै रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव देखिन थालेको नगरपालिकाको भनाइ छ।
यद्यपि अनियमित वर्षा, अत्यधिक गर्मी, असिनापानी र रोगकीराको समस्या अझै चुनौतीका रूपमा रहेका छन्। तर आधुनिक प्रविधि, प्लास्टिक टनेल र ड्रिप सिँचाइ प्रणालीको प्रयोग विस्तार गर्न सके व्यावसायिक तरकारीखेती ग्रामीण समृद्धिको बलियो आधार बन्न सक्ने अपेक्षा गरिएको छ।
