खडेरीको मार धान उत्पादनमा, उदयपुरमा रोपाइँअघि नै सुक्न थाले ब्याड
उदयपुर । असार–साउनको धान रोपाइँ नजिकिँदै गर्दा उदयपुरका किसानले तयार पारेका धानका ब्याड सुक्न थालेपछि यस वर्षको उत्पादनप्रति चिन्ता बढेको छ। जेठको सुरुदेखि जारी अत्यधिक गर्मी र वर्षा अभावले रोपाइँको आधार मानिने ब्याड नै प्रभावित हुन थालेका हुन्।
जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रका अधिकांश किसानले वैशाख अन्तिम सातादेखि जेठको पहिलो हप्तामै धानको ब्याड राखिसकेका थिए। तर लामो समयदेखि पानी नपर्दा ब्याडमा चिरा पर्न थालेको छ भने धानको बीउसमेत राम्रोसँग उम्रन नसक्ने अवस्था देखिएको किसानहरू बताउँछन्।
त्रियुगा–१ जोगीदहका किसान मोहनदेव चौधरीका अनुसार खडेरीका कारण ब्याड सुक्दै जाँदा धानको बिरुवा उत्पादनमै समस्या देखिन थालेको छ। त्यस्तै त्रियुगा–१३ पोर्ताहका प्रेमप्रसाद दाहालले समयमै ब्याड राखे पनि पर्याप्त चिस्यान नहुँदा बीउ उम्रिने प्रक्रियामा असर पुगेको बताए।
त्रियुगा–३ भुल्के क्षेत्रमा मात्रै डेढ सयभन्दा बढी धानका ब्याड रहेको र अधिकांशमा चिरा देखिन थालेको स्थानीय किसानहरूको भनाइ छ। यसले असार अन्त्यदेखि सुरु हुने रोपाइँ प्रभावित हुने सम्भावना बढाएको उनीहरू बताउँछन्। उदयपुरमा सामान्यतया असारको तेस्रो सातादेखि साउनको तेस्रो सातासम्म धान रोपाइँ गरिन्छ। तर अहिले नै ब्याड प्रभावित हुन थालेपछि किसानहरू समयमै वर्षा हुने प्रतीक्षामा छन्। पर्याप्त वर्षा नभए धानको बिरुवा अभावसँगै रोपाइँ ढिलो हुने र उत्पादन घट्ने जोखिम बढ्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन्।
लगातारको गर्मी र सुक्खाले खेतमा मात्र होइन, किसानको मनमा पनि चिन्ताको चिरा पार्न थालेको छ। अबको केही साताभित्र पर्याप्त वर्षा नभए यस वर्षको धान उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।
