नेपाल–भारत सम्बन्धलाई ‘रूपान्तरणकारी साझेदारी’ बनाउने प्रतिबद्धता, दिल्लीमा उच्चस्तरीय छलफल
काठमाडौँ/ नेपाल र भारतले द्विपक्षीय सम्बन्धलाई परम्परागत मित्रताभन्दा माथि उठाएर ‘रूपान्तरणकारी साझेदारी’को दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ दिल्लीमा भएको परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशङ्करबीचको भेटवार्तामा व्यापार, ऊर्जा, लगानी र सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेर छलफल भएको हो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध मात्र नभई साझा इतिहास, संस्कृति र सभ्यतामा आधारित साझेदारीका रूपमा व्याख्या गरे। उनले सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिमार्फत भारतसँगको सहकार्यलाई थप मजबुत बनाउने नेपालको प्रतिबद्धता दोहोर्याए।
भारतीय विदेशमन्त्री जयशङ्करले नेपालसँगको सम्बन्धलाई विशेष र ऐतिहासिक भन्दै जनस्तरको घनिष्ठ सम्बन्ध, विश्वास र सांस्कृतिक निकटता यसको प्रमुख आधार रहेको बताए। उनले व्यापार, ऊर्जा, विकास साझेदारी, शिक्षा, सूचना प्रविधि, कृत्रिम बौद्धिकता, विपद् व्यवस्थापन तथा नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गरे।
छलफलमा खुला सीमाको व्यवस्थापन, सुरक्षा सहकार्य र क्षेत्रीय सम्पर्क विस्तारका विषय पनि उठेका थिए। भारतले संकटका बेला नेपाललाई गरेको सहयोगको चर्चा गर्दै जयशङ्करले द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पुर्याउने अवसर दुवै मुलुकसँग रहेको बताए।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल भारत सरकारको निमन्त्रणामा जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा छन्। भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय भेटवार्ता तथा कूटनीतिक कार्यक्रममा सहभागिता जनाइरहेका छन्।
