विराटनगरमा दुई कृतिको बकसपत्र विमर्श कार्यक्रम सम्पन्न

 

विराटनगर,  — कथाकार विष्णु भण्डारी आचार्यको लघुकथासङ्ग्रह ‘बकसपत्र’ र कवि रोहिणी रसिकको कवितासङ्ग्रह ‘छन्द आराधना’ माथिको बकसपत्र विमर्श कार्यक्रम शनिबार विराटनगरमा सम्पन्न भएको छ।

कोसी साहित्य–कला परिषद नेपाल मोरङ, कोसी प्रदेशको आयोजनामा तथा खोटाङ सामाजिक सेवा मञ्च विराटनगरको सहकार्यमा सम्पन्न कार्यक्रम खोटाङ सामाजिक सेवा मञ्चको सभाहलमा बिहान ११ बजेबाट सुरु भएको थियो। कार्यक्रममा साहित्यप्रेमी, लेखक, कवि तथा बुद्धिजीवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा ‘छन्द आराधना’ कृतिमाथि कवि स्वयं रोहिणी रसिक, डा. दीपकप्रसाद न्यौपाने, बाबुराम पोखरेल, निरज कोइराला र केशु विरही ले आ–आफ्नो विमर्श प्रस्तुत गरेका थिए। विमर्शकहरूले कृतिमा समेटिएका छन्द, भाव, भाषा र शिल्पको गहिरो विश्लेषण गर्दै नेपाली साहित्यमा यसको योगदान उल्लेखनीय रहेको धारणा व्यक्त गरे।

त्यसैगरी कथाकार विष्णु भण्डारी आचार्यको ‘बकसपत्र’ लघुकथासङ्ग्रहले समसामयिक समाज, मानवीय संवेदना र जीवनका सूक्ष्म पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै वक्ताहरूले कृतिको प्रशंसा गरे।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता साहित्यिक विमर्श कार्यक्रमले स्रष्टा र पाठकबीच सजीव संवाद स्थापित गर्ने तथा नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। सहभागी साहित्यकारहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रम सह–आयोजक बन्द वाटिका नेपाल विराटनगर, साहित्य–कला परिषद नेपाल कोसी मोरङ तथा अन्य साहित्यिक संघसंस्थाको सहकार्यमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *