डिजिटल स्मार्ट बोर्डमा विद्यार्थीको भविष्य चम्काउँदै पूर्वाञ्चल पब्लिक स्कूल
सुन्दरहरैंचा (मोरङ) — शिक्षामा प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यार्थीको सिकाइलाई आधुनिक र गुणस्तरीय बनाउँदै मोरङको सुन्दरहरैंचा–५ मा अवस्थित पूर्वाञ्चल पब्लिक स्कूल अघि बढिरहेको छ। विद्यालयमा डिजिटल स्मार्ट बोर्डको प्रयोगले शिक्षण–सिकाइ प्रक्रिया दृश्यात्मक, अन्तरक्रियात्मक र सहभागीमूलक बन्दै गएको छ।
डिजिटल स्मार्ट बोर्डको माध्यमबाट पाठ्यवस्तु प्रस्तुत गर्दा विद्यार्थीहरूको ध्यान केन्द्रित हुनुका साथै विषय बुझाइ सहज भएको विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार राईले जानकारी दिए। उनका अनुसार स्मार्ट कक्षाले विद्यार्थीहरूलाई सक्रिय सहभागितातर्फ आकर्षित गर्दै सिकाइ प्रक्रियालाई रोचक बनाएको छ।
गत शैक्षिक सत्र २०८१ देखि नै विद्यालयलाई ‘डिजी स्कुल’का रूपमा रूपान्तरण गरिएको र कक्षा १ देखि १० सम्म स्मार्ट कक्षा सञ्चालन भइरहेको प्रिन्सिपल राईले बताए। डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीका लागि डिजिटल सीप विकास कार्यक्रमलाई विद्यालयले निरन्तरता दिँदै आएको छ।
“परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोडेर सिकाइलाई प्रभावकारी बनाइएको छ,” उनले भने, “डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई राष्ट्र निर्माणको आधार पनि हो।” उनका अनुसार प्रविधिको सही प्रयोगमार्फत विद्यार्थीलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने विद्यालयको मुख्य लक्ष्य रहेको छ।
‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने उद्देश्यसहित विद्यालयलाई डिजी स्कुलको रूपमा विस्तार गरिएको उनले बताए। डिजिटल व्यवस्थापन प्रणालीमार्फत विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति तथा अभिभावकसँगको समन्वयलाई समेत सुदृढ बनाइएको विद्यालयको दाबी छ।
विद्यालयले स्पा एजुकेसन कन्सलटेन्सीसँग १० वर्षे सम्झौता गरी हरेक दिन शिक्षकहरूलाई तालिम प्रदान गर्दै आएको जनाएको छ। यसका कारण तालिमप्राप्त र अनुभवी शिक्षकबाट गुणस्तरीय अध्यापन भइरहेको प्रिन्सिपल राईले बताए। चालु वर्षदेखि विद्यालयले मन्टेश्वरी कक्षालाई पनि डिजी स्मार्ट कक्षाका रूपमा विकास गरिरहेको छ।
शैक्षिक गतिविधिसँगै विद्यालयमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि फराकिलो खेल मैदानसमेत उपलब्ध छ। हाल पूर्वाञ्चल पब्लिक स्कूलमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्।
प्रविधि र शिक्षाको संयोजनमार्फत विद्यार्थीको भविष्य उज्यालो बनाउने लक्ष्यसहित अघि बढिरहेको पूर्वाञ्चल पब्लिक स्कूल सुन्दरहरैंचामा डिजिटल शिक्षाको उदाहरणीय नमूना बन्दै गएको देखिन्छ।
