द राइजिङ स्कुल र छाहारीको सहकार्यमा सुन्दरहरैँचामा निःशुल्क आँखा तथा दाँत परीक्षण
विद्यार्थी र स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान, सचेतना अभिवृद्धिमा जोड
सुन्दरहरैँचा (मोरङ) । विद्यार्थी तथा स्थानीय बासिन्दाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा निःशुल्क आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न भएको छ।
ओम बिराट डेन्टल क्लिनिको प्राबिधिक सहयोगमा छाहारी एजुकेसन एण्ड अपर्चुनिटीज, काठमाडौँको प्रायोजन तथा द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुल, मोरङको संयोजनमा आयोजित शिविरमा विद्यालयका विद्यार्थी र स्थानीय बासिन्दाले आँखा तथा दाँत परीक्षण सेवा लिएका छन्।
बालबालिकाको शारीरिक स्वास्थ्य र शैक्षिक विकासबीचको सम्बन्धलाई ध्यानमा राखेर आयोजना गरिएको शिविरले नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे समुदायमा सचेतना फैलाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रमबारे जानकारी दिँदै छाहारीका प्रतिनिधि राजेन्द्र थापाले ग्रामीण क्षेत्र तथा विद्यालय तहमा अझै पनि धेरै बालबालिका र अभिभावक नियमित स्वास्थ्य परीक्षणको पहुँचबाट वञ्चित रहेको बताए। विद्यार्थीको शैक्षिक विकासका लागि शारीरिक तथा मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले बालबालिकाको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखेर विद्यालयसँगको सहकार्यमा शिविर आयोजना गरिएको बताए।
‘विद्यार्थीहरूको शैक्षिक विकासका लागि उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य पहिलो सर्त हो,’ थापाले भने, ‘बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।’
त्यस्तै, द राइजिङ इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल गोपाल पाठकले विद्यालयस्तरबाटै बालबालिकामा स्वास्थ्य सचेतना विकास गर्नु र सम्भावित स्वास्थ्य समस्या समयमै पहिचान गर्नु आवश्यक रहेको बताए।
‘विद्यालय परिसरमै विद्यार्थी र स्थानीय बासिन्दालाई लक्षित गरी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न पाउनु खुसीको विषय हो,’ पाठकले भने, ‘यस्ता कार्यक्रमले विद्यार्थीलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै समुदायलाई समेत लाभ पुर्याउँछन्।’
शिक्षा र स्वास्थ्यलाई एकअर्काका परिपूरकका रूपमा अघि बढाउन विद्यालय तथा सामाजिक संस्थाबीचको सहकार्य प्रभावकारी हुने यस कार्यक्रमले देखाएको छ। विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न शैक्षिक गतिविधिसँगै स्वास्थ्य सचेतना र नियमित परीक्षणलाई पनि प्राथमिकता दिनुपर्ने सन्देश शिविरले दिएको छ।
आयोजकका अनुसार शिविरबाट विद्यार्थी तथा स्थानीय बासिन्दाले निःशुल्क आँखा र दाँत परीक्षण सेवा प्राप्त गरेका छन्।
