हरैंचा मोडेल सेकेण्डरी स्कुलको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

एलएन गच्छदार 

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ हरैंचा बजारस्थित हरैंचा मोडेल सेकेण्डरी स्कुलले आफ्नो २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनका पूर्व अध्यक्ष टिकाराम पुरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी बनाउन विद्यालयहरूले समयअनुसार शिक्षण प्रणालीलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल रुद्र थापाले बदलिँदो समयअनुसार शिक्षा, सीप, संस्कार र प्रविधिलाई सँगसँगै अघि बढाउँदै विद्यालयलाई प्रतिस्पर्धी बनाउँदै लगिएको बताए। सूचना तथा प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा शैक्षिक प्रणालीमा गुणात्मक सुधार अपरिहार्य रहेको उनको भनाइ थियो।

उनका अनुसार हरैंचा मोडेलका विद्यार्थीहरूले शिक्षा, खेलकुद, वक्तृत्वकला लगायत विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिले विद्यालयले अघि सारेको सर्वाङ्गीण विकासको अवधारणालाई पुष्टि गरेको छ। “हामी कुरा मात्र होइन, नतिजाबाट प्रमाणित गर्न चाहन्छौँ,” उनले भने।

कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेतले हरैंचा मोडेललाई अन्य विद्यालयका लागि प्रेरणाको स्रोतका रूपमा उल्लेख गर्दै यहाँको शैक्षिक वातावरण, व्यवस्थापन र पूर्वाधार अन्य विद्यालयका लागि मार्गदर्शन बन्न सक्ने बताए।

त्यस्तै सिद्धार्थ सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीको व्यवहार, संस्कार र सीप विकाससँग जोडिनुपर्ने बताए। गुणस्तरीय शिक्षाले नै समाजलाई सकारात्मक परिवर्तनतर्फ लैजान सक्ने उनको धारणा थियो।

सो अवसरमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न समुदायका भेषभूषासहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस्तै सामाजिक सचेतनामूलक नाटक प्रदर्शन, विभिन्न स्टलहरूको प्रदर्शनी तथा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परिकारहरूको स्टल समेत राखिएको थियो।

कार्यक्रमका अवसरमा उत्कृष्ट शिक्षक तथा समाजमा योगदान पुर्‍याएका विभिन्न सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार वितरण पनि गरिएको थियो।

विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म करिब ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

कार्यक्रम स्कुलका प्रबन्ध निर्देशक घनश्याम रिमालको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की, प्याब्सन सुन्दरहरैंचा नगर अध्यक्ष दीपक क्षेत्री, एनप्याब्सन कोशी प्रदेश सदस्य सन्तोष राई, प्याब्सन मोरङका सचिव देवी सिटौला, सहसचिव दीपेन राई लगायत अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *