स्वास्थ्य र शिक्षाको संगम: हरैंचा मोडेल इङ्ग्लिस स्कुलमा जनचेतनामूलक कार्यक्रम

एलएन गच्छदार / सुन्दरहरैंचा 

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. १ मा हरैंचा मोडेल इङ्ग्लिस स्कुलले विराटनगर आँखा अस्पताल को सहयोगमा तथा सुन्दरहरैंचा नगर अस्पताल को सहकार्यमा बालबालिकाका लागि आँखा तथा कानको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीको स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समयमै समस्या पहिचान गर्ने वातावरण सिर्जना गरेको विद्यालयले जनाएको छ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको आँखा र कानको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको थियो। चिकित्सकहरूले बालबालिकामा बढ्दो मोबाइल, कम्प्युटर र ल्यापटप प्रयोगका कारण दृष्टि तथा श्रवण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले अभिभावक र विद्यार्थी दुवैलाई सचेत रहन आग्रह गरेका छन्। डिजिटल उपकरण प्रयोग गर्दा समय सीमित राख्ने, उचित दूरी कायम गर्ने, नियमित विश्राम लिने तथा समस्या देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउने सन्देश पनि दिइएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल रुद्र थापा ले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमले बालबालिकामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै समस्या पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो। आगामी दिनमा पनि स्वास्थ्य र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ।

विसं २०५९ सालमा स्थापना भएको विद्यालयले २३ औं बसन्त पार गरिसकेको छ। काठको घरबाट सुरु भएको शिक्षण यात्रा आज आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित आधुनिक कक्षाकोठामा स्मार्ट बोर्डमार्फत पठनपाठन सञ्चालन हुने अवस्थासम्म आइपुगेको छ। विद्यालयले प्रविधिमैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै मिडास को–पाइलटसँग सहकार्य गरी ‘टिचर को–पाइलट’ कार्यक्रम सञ्चालन गरिरहेको छ भने बौद्धिक क्षमता अभिवृद्धिका लागि हरेक महिना ‘इन्स्पार्य एजुकेशन’सँग सहकार्य गर्दै प्रभावकारी शिक्षण सिकाइ अघि बढाइरहेको छ।

पठनपाठनसँगै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि जोड दिएको छ। म्युजिक कक्षा, नृत्य प्रशिक्षण, खेलकुदतर्फ फुटबल प्रशिक्षण तथा आईटीएफ तालिम जस्ता कार्यक्रममार्फत शैक्षिकसँगै सिर्जनात्मक र शारीरिक विकासमा ध्यान दिइँदै आएको छ। प्ले ग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन सञ्चालन हुँदै आएको विद्यालयले विद्यार्थी, अभिभावक र समुदायमा शिक्षा तथा स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *