हसिना सिमसारमा बिरुवा रोप्ने अभियान कहाँ पुग्यो ? अहिलेसम्म कति बिरुवा रोपियो ?
बिराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -५ स्थित नमुना सामुदायिक क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र हसिना सिमसार सरसफाई तथा फलफूलका बिरुवा रोप्ने अभियान अन्तिम चरणमा पुगेको छ।
शनिबार गिरी फाउन्डेसन बिराटनगरका प्रमुख अविशेक गिरी र तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङसहित विभिन्न टोल विकास सस्थाका प्रमुख तथा प्रतिनिधिको टोलीले सरसफाई तथा फलफूलका बिरुवा रोपेका छन्।
कार्यक्रममा बोल्दै गिरी फाउन्डेसन बिराटनगरका प्रमुख अविशेक गिरीले हसिना सिमसार कोशी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्य रहेको बताउदै आफ्नो फाउन्डेसनको तर्फबाट २० वटा फोहोर फाल्ने ड्रम अर्थात् डस्टविन उपलब्ध गराउने बताए।

यस्तै तरुण दल सुनसरीका अध्यक्ष गुरुङले आफूहरु प्रकृति पुजक भएको भन्दै सिमसारमा बिरुवा रोप्ने अति नै सर्हानिय कार्य भएको बताएका थिए। नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा फलफूलका बिरुवा रोप्न अभियान थालिएको थियो। सिमसार भित्र रहेका विभिन्न बन्यजन्तुलाई लक्षित गरी फलफूलका मात्रै अम्बा,आप,कटहर,बढ़हर,श्याम कटहर लगायतका बिरुवा रोप्ने कार्य अन्तिमन चरणमा पुगेको नमुना सामुदायिक वन उपभोक्ता समित तथा हसिना सिमसारका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए।
सिमसारमा ३ हजार बिरुवा रोप्ने लक्षका साथ अभियान संचालन गरिएको भएको पनि अहिले करिव ५ हजार बिरुवा रोपिएको अध्यक्ष न्यौपानेले बताए। फलफूलका सबै बिरुवा सव डिभिजन वन कार्यालय लाटी झोडाले निशुल्क रुपमा उपलब्ध गराएको र विभिन्न टोल विकासक प्रमुख तथा प्रतिनिधिहरुको श्रमदान मार्फद रोपिएको नमुना सामुदायिक वन उपभोक्ता समितका सदस्य उदय फुयालले बताए।

सिमसारमा सरसफाई तथा बिरुवा रोप्ने अभियान भाद्र महिनाको अन्तिमसम्म चल्नेछ। अध्यक्ष न्यौपाने नेतृत्वमा आएपछि अहिले सिमसारमा विकास निर्माणको कामले गति लिएको छ। विकास निर्माणको सबै काम सकिएपछि बार्षिक रुपमा पचास हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष न्यौपाने बताउछन्।
कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सिमसार क्षेत्र लगभग ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ भने हाइवे बाँसबारी चोक देखि करिब ५ किलोमिटर उत्तरमा पर्दछ।
