लुम्बिनी विकास बैंकको १९औँ वार्षिकोत्सव : हरैंचा शाखाको ९ वर्षे यात्राले बदलियो स्थानीय बैंकिङको स्वरूप


एलएन गच्छदार / सुन्दरहरैंचा।

कुनै समय सामान्य बैंकिङ कारोबार गर्नसमेत विराटचोक वा बेलबारी धाउनुपर्ने बाध्यता भोगेका हरैंचावासी आज आफ्नै ठाउँमा सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा पाइरहेका छन्। यही परिवर्तनको यात्रालाई स्मरण गर्दै लुम्बिनी विकास बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा सुन्दरहरैंचा–१ स्थित हरैंचा शाखाले विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।

स्थानीय संघसंस्थाका प्रतिनिधि, सेवाग्राही, ग्राहक तथा बैंकका कर्मचारीहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा बैंकको सेवा विस्तार, सामाजिक योगदान र स्थानीय अर्थतन्त्रमा पुर्‍याएको प्रभावबारे चर्चा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रमुख फडिन्द्र नेपालले हरैंचा शाखाले सफलतापूर्वक ९ वर्ष पूरा गरेको जानकारी दिँदै स्थानीयस्तरमै सहज, सुरक्षित र भरपर्दो बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताए। शाखा स्थापना हुनुअघि बैंकिङ कारोबारका लागि अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले अहिले आफ्नै क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध भएपछि स्थानीय नागरिकको समय, श्रम र खर्चको बचत भएको उल्लेख गरे।

उनका अनुसार बैंकले बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, मोबाइल बैंकिङ लगायतका आधुनिक सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायसँग निरन्तर सहकार्य गर्दै आएको छ। आगामी दिनमा पनि ग्राहकमैत्री, छिटोछरितो, सुरक्षित र विश्वासिलो सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहने उनले बताए।

कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै सेवाग्राही पम्फादेवी तिम्सिनाले ज्येष्ठ नागरिक भत्ता अहिले आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न पाएको बताइन्। पहिले भत्ता बुझ्न विराटचोकसम्म जानुपर्ने बाध्यता रहे पनि अहिले हरैंचा शाखाबाटै सेवा पाउँदा समय र खर्च दुवैको बचत भएको उनको भनाइ थियो। बैंकका कर्मचारीको व्यवहार र सेवाप्रति आफू सन्तुष्ट रहेको उनले बताइन्।

त्यसैगरी स्थानीय तुलसी थापाले हरैंचा शाखाले दर्जनौँ स्थानीय संघसंस्था, व्यवसायी तथा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिँदै आएको बताए। बैंकका कर्मचारी घर–घरमै पुगेर खाता खोल्ने अभियान सञ्चालन गरेपछि धेरै नागरिक बैंकिङ पहुँचमा आएको उल्लेख गर्दै उनले विराटचोक र बेलबारी धाउनुपर्ने झन्झट अन्त्य भएको बताए। अब छिट्टै शाखाबाट एटीएम सेवा सञ्चालनमा आए स्थानीयलाई अझ बढी सहज हुने अपेक्षा उनले व्यक्त गरे।

स्थानीय ग्राहक कमला खड्काले हरैंचामा स्थापना भएको पहिलो विकास बैंकका रूपमा लुम्बिनी विकास बैंकले सुरुदेखि नै भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताइन्। सेवाको सहजता, कर्मचारीको आत्मीय व्यवहार र ग्राहकप्रतिको उत्तरदायित्वका कारण बैंकप्रति स्थानीयको विश्वास बढ्दै गएको उनको भनाइ थियो।

वार्षिकोत्सव कार्यक्रममा सहभागी स्थानीयवासीले बैंकले आर्थिक कारोबारको केन्द्र मात्र नभई समुदायसँग जोडिएको सामाजिक संस्थाको रूपमा पनि आफ्नो पहिचान स्थापित गरेको धारणा व्यक्त गरेका थिए। स्थानीय संघसंस्थासँगको सहकार्य, वित्तीय साक्षरता अभियान तथा डिजिटल बैंकिङ सेवाको विस्तारले बैंकप्रति जनविश्वास थप बलियो बन्दै गएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको समापनमा बैंकले सम्पूर्ण सेवाग्राही, ग्राहक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, आधुनिक र गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको थियो। १९औँ वार्षिकोत्सव केवल उत्सवमा सीमित नभई हरैंचा क्षेत्रमा वित्तीय पहुँच विस्तार, स्थानीय विकासमा बैंकको योगदान र समुदायसँगको बलियो सम्बन्धलाई पुनः स्मरण गराउने अवसरका रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *