भरतपुरमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको भव्य तयारी, ४० हजार सहभागी हुने अपेक्षा

नारायणगढ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने भएको छ। महाधिवेशनलाई सफल बनाउन १८ वटा उपसमितिले तीव्र तयारी गरिरहेका छन्।

महाधिवेशनको उद्घाटन भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय चितवन अगाडिको गेस्टहाउस चौरमा तथा बन्दसत्र उद्योग सङ्घ चितवनको सभाहलमा आयोजना गरिने तयारी गरिएको छ। उद्घाटनस्थलमा आधुनिक जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त विशाल डोम निर्माण कार्य सुरु भइसकेको छ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा तीनवटा डोम जोडेर एउटै विशाल सभाहल बनाइँदै छ। डोमको छानो ‘वाटरप्रुफ टेन्साइल फेब्रिक’ प्रयोग गरी निर्माण गरिएकाले घाम, पानी तथा हावाको प्रभावबाट सहभागी सुरक्षित रहनेछन्।

रास्वपा चितवनका सचिव तेजेन्द्र पौडेलले डोमभित्र एलइडी स्क्रिन, पङ्खा, कुलर तथा पर्याप्त सिट व्यवस्थापन गरिने जानकारी दिए। सहभागीले सहज रूपमा कार्यक्रम अवलोकन गर्न सक्ने गरी सम्पूर्ण पूर्वाधार तयार पारिँदै छ।

महाधिवेशन उद्घाटन समारोहमा करिब ४० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने बताइएको छ।

देशभरबाट आउने प्रतिनिधिका लागि चितवनका होटलहरूले विशेष सहुलियतको व्यवस्था गरेका छन्। होटल सङ्घ चितवनका अनुसार सहभागीले बसाइमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट पाउनेछन्। सयभन्दा बढी होटलमा प्रतिनिधिहरूको आवास व्यवस्थापन गरिने तयारी गरिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन भरतपुरमा व्यापक तयारी भइरहेको आयोजकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *