घर निर्माणमा अब कडाइ : विराटनगर महानगरले लागू गर्यो सरसफाइसम्बन्धी नयाँ मापदण्ड
विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्दै सहरी सरसफाइ र पूर्वाधार संरक्षणलाई प्रभावकारी बनाउन नयाँ मापदण्ड लागू गरेको छ।
महानगरपालिकाले घरनक्सा पास प्रक्रियासँगै सरसफाइसम्बन्धी सात वटा अनिवार्य शर्त लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार निर्माण सामग्री सडक, नाला तथा फुटपाथमा राख्न पाइने छैन। निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ तथा मर्मत गर्नुपर्नेछ।
निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ। साथै निर्माण कार्यका क्रममा सम्भावित दुर्घटना रोक्न आवश्यक सुरक्षा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
महानगरले अन्तिम नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल वरपरका नालाको सफाइ, नाला ढक्कन मर्मत तथा सडकमा भएको क्षतिको व्यवस्थापन अनिवार्य गरेको छ। तोकिएका काम पूरा नभएसम्म अन्तिम स्वीकृति नदिइने जनाइएको छ।
सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार नयाँ मापदण्डले निर्माणका कारण हुने नाला जामको समस्या २० देखि २५ प्रतिशतसम्म घटाउने अपेक्षा गरिएको छ महानगरका कर्मचारीले नियमित अनुगमन गर्नेछन् भने मापदण्ड उल्लंघन गर्ने निर्माणकर्तामाथि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ अनुसार कारबाही गरिनेछ। महानगरपालिकाले यो व्यवस्थाले निर्माण कार्यलाई थप व्यवस्थित बनाउनुका साथै सहरी वातावरण स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

