स्वास्थ्य बिमा सुधारका लागि सरकार सक्रिय, सेवा गुणस्तर र दिगोपनामा जोड
काठमाडौं / स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी, विश्वसनीय र दिगो बनाउन सरकारले सुधारका विभिन्न उपाय अघि बढाउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित छलफलमा संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य अधिकारीहरूले बिमा कार्यक्रम सुधारका विषयमा विस्तृत समीक्षा गरेका हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्दै आर्थिक भार कम गर्ने तथा वास्तविक रूपमा आवश्यक पर्ने नागरिकलाई लक्षित सेवा उपलब्ध गराउने दिशामा सरकार केन्द्रित रहेको बताइन्। उनले स्वास्थ्य सेवाको पहुँच विस्तार र बिमाप्रति नागरिकको विश्वास बढाउने योजनामा सरकार काम गरिरहेको जानकारी दिइन्।
छलफलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा देखिएका चुनौतीबारे समीक्षा गर्दै दिगो समाधानका उपायहरू खोजिएको थियो। स्वास्थ्य सचिव डा. विकास देवकोटाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भुक्तानी व्यवस्थापन, अनुगमन तथा पारदर्शितामा सुधार आवश्यक रहेको बताए।
सरकारले निजामती कर्मचारी, शिक्षकलगायत विभिन्न समूहको अनिवार्य नामाङ्कन, आय र उमेरका आधारमा प्रिमियम निर्धारणको सम्भाव्यता अध्ययन, झुटा दाबी नियन्त्रण प्रणाली विकास तथा स्थानीय अस्पतालको क्षमता अभिवृद्धि गर्ने योजना अघि बढाएको जनाएको छ।
छलफलमा सहभागी विज्ञहरूले स्वास्थ्य बिमा कोषलाई दीर्घकालीन रूपमा सबल बनाउन अतिरिक्त राजस्व स्रोत खोज्ने, अस्पतालहरूको भुक्तानी व्यवस्थापनलाई व्यवस्थित गर्ने तथा सेवा गुणस्तर सुधारमा विशेष ध्यान दिन सुझाव दिएका थिए।
प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि, औषधि उपलब्धता सुनिश्चितता, स्वास्थ्य संस्थाको पहुँच विस्तार र सेवा गुणस्तर सुधारमा जोड दिनुपर्ने बताएका थिए।
मन्त्री मेहताले सरकारी अस्पतालप्रति नागरिकको विश्वास बढाउन सरसफाइ, सहज सेवा प्रवाह, लाइन व्यवस्थापन र चिकित्सकको नियमित उपस्थितिलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्। साथै, प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणहरूको विवरण संकलन गरी प्रभावकारी उपयोगका लागि आवश्यक पहल गरिने जानकारी दिइन्।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित, पारदर्शी र नागरिकमैत्री बनाउँदै सबै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सुधारका कदम अगाडि बढाएको जनाएको छ।
