प्रतिस्पर्धा, प्रतिभा र प्रस्तुति : कोशी प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिताको उज्यालो पक्ष
एलएन गच्छदार , सुन्दरहरैंचा
विद्यार्थी प्रतिभा पहिचान, भाषिक क्षमता विकास र सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कोशी प्रदेश नेशनल प्याब्सनको आयोजनामा सम्पन्न कोशी प्रदेश स्तरीय वक्तृत्वकला तथा हस्तलेखन प्रतियोगिता सुन्दरहरैंचामा उत्साहपूर्ण वातावरणका बीच सम्पन्न भएको छ।
प्रदेशभरका १९ निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरू सहभागी भएको प्रतियोगिताले कोशी प्रदेशका विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा मात्र होइन, विद्यार्थीहरूको आत्मविश्वास र नेतृत्व क्षमताको झलकसमेत प्रस्तुत गरेको थियो। सुन्दरहरैंचा नगरपालिका–१२ स्थित श्री इन्द्रपुर इङ्लिस स्कुलको परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरू आफ्ना विचार, लेखन कला र प्रस्तुति क्षमतासहित मञ्चमा उत्रिएका थिए।
वक्तृत्वकला विधातर्फ श्री इन्द्रपुर इङ्लिस स्कुल प्रथम बन्न सफल भयो। त्यसैगरी बेलबारी–११ स्थित ज्ञानज्योति सेकेण्डरी स्कुल दोस्रो, सुन्दरहरैंचा–१० को हिमालय इङ्लिस स्कुल तेस्रो तथा विराटनगर–४ स्थित अरियन्त इङ्लिस स्कुलले सान्त्वना स्थान हासिल गरे। निर्णायकहरूले विषयवस्तु, प्रस्तुति शैली, आत्मविश्वास र समय व्यवस्थापनका आधारमा नतिजा निर्धारण गरेका थिए।
नेपाली हस्तलेखन प्रतियोगितामा अरिहन्त इङ्लिस स्कुल प्रथम, जेवियर इङ्लिस बोर्डिङ स्कुल दोस्रो र हिमालय इङ्लिस स्कुल तेस्रो बने भने श्री इन्द्रपुर इङ्लिस स्कुलले सान्त्वना पुरस्कार हात पार्यो।
त्यसैगरी अंग्रेजी हस्तलेखनतर्फ ज्ञानोदय इङ्लिस स्कुल प्रथम, हिमालय इङ्लिस स्कुल दोस्रो, लालिगुराँस इङ्लिस स्कुल तेस्रो तथा अभा इङ्लिस स्कुल सान्त्वना स्थानमा रहे।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश नेशनल प्याब्सनका अध्यक्ष कमल खनालले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, भाषिक स्पष्टता र विचार अभिव्यक्तिको क्षमता विकास गर्ने बताए। “शिक्षा केवल परीक्षा र पाठ्यपुस्तकमा सीमित हुनु हुँदैन, सिर्जनात्मकता र प्रस्तुति सीप पनि उत्तिकै आवश्यक छ,” उनले भने।
प्रमुख अतिथि तथा नेशनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले विद्यार्थी जीवनमै वक्तृत्वकला र हस्तलेखनजस्ता सीपको विकास हुनु भविष्यको नेतृत्व निर्माणका लागि महत्वपूर्ण हुने उल्लेख गरे। उनले व्यवहारिक, जीवनोपयोगी र मूल्यआधारित शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमाल, विभिन्न जिल्लाका प्याब्सन अध्यक्षहरू, विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समापन समारोहमा विजयी विद्यार्थीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूको मेहनत र प्रतिभाको कदर गरिएको थियो।
सुन्दरहरैंचामा सम्पन्न यो प्रतियोगिता केवल नतिजामा सीमित रहेन, बरु विद्यार्थीहरूका लागि सपना देख्ने, बोल्ने र लेख्ने हौसला जगाउने मञ्चका रूपमा स्मरणीय बनेको सहभागीहरूको प्रतिक्रिया छ।
