दुर्घटनामा संलग्न ट्याक्टर छुटाउन प्रहरीमाथि आक्रमण, सर्लाहीमा दुई पक्राउ

मलङ्गवा । सर्लाहीमा सडक दुर्घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको ट्याक्टर छुटाउन पुगेको समूहले डिउटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीमाथि हातपात गरी सरकारी कामकारबाहीमा अवरोध पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार जेठ २५ गते राति करिब ९ बजे कविलासी नगरपालिका–८ अगर्वास्थित मलङ्गवा सडक खण्डमा पार्किङ गरेर राखिएको ना ६ ख ७६२३ नम्बरको ट्रकलाई ज १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुगेको प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको अवस्थामा ट्याक्टर धनी कविलासी नगरपालिका–१० सलेम्पुरका अशोक कुमार यादवको नेतृत्वमा २० देखि २५ जनाको समूह त्यहाँ पुगेको थियो।

प्रहरीका अनुसार उक्त समूहले एक्कासि डिउटीमा रहेका प्रहरी कर्मचारीमाथि हातपात गर्दै कुटपिट गरेको थियो। घटनामा केही प्रहरी कर्मचारी घाइते भएका थिए। त्यसपछि समूहले अनुसन्धानका लागि रोकिएको ट्याक्टर जबरजस्ती लिएर घटनास्थलबाट फरार गराएको प्रहरीले जनाएको छ।

घटनापछि संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा प्रहरीमाथि अवरोध तथा हुलहुज्जत गर्ने कार्यमा संलग्न कविलासी नगरपालिका–१० सलेम्पुरका १९ वर्षीय विक्रम कुमार यादव र २१ वर्षीय प्रियांसु यादवलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई जेठ २६ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाका मुख्य योजनाकार मानिएका ट्याक्टर धनी अशोक कुमार यादवसहित प्रहरीमाथि हातपात गर्ने अन्य फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ। घटनामा संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याइने र प्रहरीको काममा अवरोध पुर्‍याउने कार्य सह्य नहुने प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *