रास्वपाको संगठन सुदृढीकरण अभियान तीव्र, आजदेखि देशभर जिल्ला अधिवेशन सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहको अधिवेशन सम्पन्न गरेपछि संगठनलाई पूर्ण वैधानिक संरचनामा लैजाने अभियानअन्तर्गत देशव्यापी जिल्ला अधिवेशन तथा निर्वाचन प्रक्रिया सुरु गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ २३ र २४ गते विभिन्न जिल्लामा नेतृत्व चयनका लागि मतदान तथा अधिवेशन कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ४ हजार २४६ वडा समिति र ५१२ पालिका समितिको अधिवेशन सम्पन्न गरिसकेको छ। थप केही तदर्थ वडा तथा पालिका समितिलाई पनि अद्यावधिक गरी संगठन विस्तारको कार्यलाई अगाडि बढाइएको छ।
आयोगका प्रमुख भुवन केसीले तदर्थ संरचनाबाट निर्वाचित र जनअनुमोदित नेतृत्वतर्फ पार्टीलाई रूपान्तरण गर्ने प्रक्रियामा जिल्ला अधिवेशन महत्वपूर्ण चरण भएको बताए। स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय र प्रदेशमा पाँच सदस्यीय निर्वाचन समिति परिचालन गरिएको उनको भनाइ छ।
निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गरिनेछ। जसअनुसार पहिलो चरणमा सातै प्रदेशका ३८ जिल्लामा मतदान तथा नेतृत्व चयन प्रक्रिया सुरु भएको छ भने दोस्रो चरणमा थप २७ जिल्लामा अधिवेशन सम्पन्न हुनेछ। विशेष साङ्गठनिक अवस्थाका कारण एक जिल्लाको निर्वाचन जेठ २६ गतेका लागि तय गरिएको आयोगले जनाएको छ।
जिल्ला अधिवेशनसँगै बागमती प्रदेशबाट प्रदेश तहको अधिवेशन प्रक्रिया पनि सुरु हुँदैछ। सातै प्रदेशमा निर्वाचन सम्पन्न गर्न पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको आयोगले जनाएको छ।
राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याउँदै रास्वपाले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न देशव्यापी निर्वाचन प्रक्रिया सञ्चालन गरेको जनाएको छ। आयोगले सम्पूर्ण नेता–कार्यकर्ता तथा सरोकारवालालाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ।
