जितियाले जोगाउँदै थारू संस्कृति, लक्ष्मी चौधरी भन्छिन्– ‘नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्नुपर्छ’
एलएन गच्छदार / बर्जु (सुनसरी) । थारू समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको जितिया पर्वको अवसरमा बर्जु गाउँपालिका–५ मा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिमुतवाहनको पौराणिक कथामा आधारित झाँकी, थारू पौराणिक लोकनृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले सहभागीको ध्यान खिचेको थियो।
महिला संस्कृति संरक्षण समिति बर्जु–५ को आयोजना तथा बर्जु गाउँपालिकाको सह–आयोजनामा कार्यक्रम भएको हो। समितिकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष जिवच्छ रायले उद्घाटन गरेका थिए। उपाध्यक्ष नितु कुमारी चौधरी विशेष अतिथि तथा वडा नं. ५ का अध्यक्ष अजय चौधरी अतिथि थिए।
कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष लक्ष्मी चौधरीले जितिया पर्वलाई धार्मिक परम्परामा मात्र सीमित नराखी थारू समुदायको मौलिक संस्कृति र पहिचान संरक्षण गर्ने अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन्।
“हाम्रो संस्कृति र परम्परा हामीले जोगाएनौँ भने भोलिको पुस्ताले आफ्नो मौलिक पहिचान बिर्सन सक्छ। त्यसैले नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्परा र इतिहाससँग जोड्नु आजको आवश्यकता हो,” चौधरीले भनिन्।
उनका अनुसार जितिया पर्व थारू समुदायका महिलाको आस्था, त्याग र सन्तानप्रतिको मायासँग जोडिएको महत्वपूर्ण पर्व हो। पर्वका धार्मिक पक्षसँगै यससँग जोडिएका मौलिक गीत, नृत्य, भेषभूषा, लोककथा र परम्परागत संस्कारलाई समेत संरक्षण गर्नुपर्ने उनले बताइन्।
“जितिया हाम्रो आस्था मात्र होइन, हाम्रो पहिचान पनि हो। महिलाहरूले पुस्तौँदेखि जोगाउँदै आएको यो परम्परा अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ,” चौधरीले भनिन्।
कार्यक्रमको अवसरमा जिमुतवाहनको पौराणिक कथामा आधारित झाँकी प्रस्तुत गरिएको थियो। झाँकीमार्फत जितिया पर्वसँग जोडिएको धार्मिक कथा, जिमुतवाहनको चरित्र तथा सन्तानको दीर्घायुका लागि गरिने आराधनालाई प्रस्तुत गरिएको थियो।
त्यसैगरी थारू पौराणिक लोकनृत्य, मौलिक गीत तथा परम्परागत भेषभूषासहित विभिन्न सांस्कृतिक प्रस्तुति गरिएको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा थारू समुदायको मौलिकता र विविधता झल्काएको थियो।
कार्यक्रमकै क्रममा झाँकीसहितको सांस्कृतिक परिक्रमा पनि गरिएको थियो। चिमडी बजारबाट सुरु भएको झाँकी तथा सांस्कृतिक टोली अमाहीबेलाल्हा परिक्रमा गर्दै पुगेको थियो। परम्परागत बाजागाजा, लोकनृत्य र सांस्कृतिक प्रस्तुतिसहित गरिएको परिक्रमाले स्थानीय क्षेत्रमा जितियाको रौनक थपेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जिवच्छ रायले जितिया थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए। उनले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई समेत त्यससँग जोड्न स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
उपाध्यक्ष नितु कुमारी चौधरीले जितिया पर्वले थारू समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। मौलिक संस्कृति संरक्षणमा महिलासँगै युवापुस्ताको सहभागिता आवश्यक रहेको उनले जोड दिइन्।
वडा नं. ५ का अध्यक्ष अजय चौधरीले स्थानीयस्तरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमले समुदायबीचको एकता, सद्भाव र सामाजिक सम्बन्ध बलियो बनाउने बताए। संस्कृति संरक्षणका लागि वडाबाट निरन्तर सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे।
थारू समुदायमा विशेष महत्वका साथ मनाइने जितिया पर्वमा महिलाहरूले सन्तानको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै परम्परागत विधिअनुसार व्रत र पूजा गर्ने गर्छन्। धार्मिक आस्थासँगै मौलिक गीत, नृत्य, लोककथा र सांस्कृतिक परम्परा जोडिएकाले जितिया थारू समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचानका रूपमा स्थापित छ।
कार्यक्रममा स्थानीय महिला, समुदायका अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
