बर्जुमा जितिया पर्व विशेष कार्यक्रम, जिमुतवाहन कथासहित भव्य झाँकी प्रदर्शन

एलएन गच्छदार / बर्जु (सुनसरी) । थारू समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व जितियाको अवसरमा बर्जु गाउँपालिका–५ मा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिमुतवाहनको पौराणिक कथामा आधारित झाँकी, थारू लोकनृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई विशेष बनाएको थियो।

महिला संस्कृति संरक्षण समिति बर्जु–५ को आयोजना तथा बर्जु गाउँपालिकाको सह–आयोजनामा कार्यक्रम गरिएको हो। समितिकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष जिवच्छ रायले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नितु कुमारी चौधरी विशेष अतिथि तथा वडा नं. ५ का अध्यक्ष अजय चौधरी अतिथि थिए।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रायले जितिया पर्व थारू, मधेसी  समुदायको मौलिक पहिचान, धार्मिक आस्था र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए। मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई समेत आफ्नो पहिचानसँग जोड्न स्थानीय तहले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

उपाध्यक्ष नितु कुमारी चौधरीले जितिया पर्वले थारू समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन्। संस्कृति संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले युवापुस्तालाई समेत मौलिक परम्परासँग जोड्नुपर्नेमा जोड दिइन्।

वडा नं. ५ का अध्यक्ष अजय चौधरीले स्थानीयस्तरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमले समुदायबीचको एकता, सद्भाव र सामाजिक सम्बन्ध थप बलियो बनाउने बताए। थारू समुदायको मौलिक संस्कृति र परम्परा संरक्षणका लागि वडाबाट निरन्तर सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमकी अध्यक्ष तथा महिला संस्कृति संरक्षण समितिकी अध्यक्ष लक्ष्मी चौधरीले जितिया पर्वलाई केवल धार्मिक अनुष्ठानका रूपमा नभई थारू समुदायको भाषा, कला, संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने अवसरका रूपमा समेत लिनुपर्ने बताइन्। महिलाको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु रहेको उनले स्पष्ट पारिन्।

जिमुतवाहन कथा, थारु पौराणिक लोक नृत्य तथा  झाँकीले तान्यो ध्यान

कार्यक्रमको मुख्य आकर्षण जिमुतवाहनको पौराणिक कथामा आधारित झाँकी बनेको थियो। जितिया पर्वसँग जोडिएको जिमुतवाहनको कथा, धार्मिक आस्था र सन्तानको दीर्घायुको कामनालाई झाँकीमार्फत प्रस्तुत गरिएको थियो।

झाँकीमा थारू समुदायको मौलिक भेषभूषा, कला तथा परम्परागत संस्कृतिलाई समेत समेटिएको थियो। जिमुतवाहन कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दा सहभागी तथा दर्शकले थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परालाई नजिकबाट बुझ्ने अवसर पाएका थिए।

यसैगरी कार्यक्रममा थारू पौराणिक लोकनृत्यसहित विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। मौलिक गीत, नृत्य र परम्परागत भेषभूषामा सजिएका महिला तथा कलाकारको प्रस्तुतिले कार्यक्रमस्थललाई सांस्कृतिक रंगले भरिएको थियो।

कार्यक्रमकै अवसरमा झाँकीसहितको सांस्कृतिक परिक्रमा समेत गरिएको थियो। चिमडी बजारबाट सुरु भएको झाँकी तथा सांस्कृतिक टोलीले माहीबेलसम्म परिक्रमा गरेको थियो। परम्परागत बाजागाजा, नृत्य र सांस्कृतिक प्रस्तुतिसहित गरिएको परिक्रमाले स्थानीय क्षेत्रमा पर्वको उल्लास थपेको थियो।

आमाको त्याग र सन्तानको दीर्घायुको कामना

थारू समुदायमा विशेष महत्वका साथ मनाइने जितिया पर्व आमाको त्याग, सन्तानप्रतिको माया र दीर्घायुको कामनासँग जोडिएको छ। यस पर्वमा महिलाहरूले आफ्ना सन्तानको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै परम्परागत विधिअनुसार व्रत तथा पूजा गर्ने गर्छन्।

जितियामा विशेषगरी जिमुतवाहनको पूजा तथा आराधना गर्ने धार्मिक परम्परा छ। व्रत, पूजा, मौलिक गीत–नृत्य र सांस्कृतिक गतिविधिमार्फत थारू समुदायले पुस्तौँदेखि आफ्नो मौलिक परम्परा जोगाउँदै आएको छ।

बर्जुमा आयोजित कार्यक्रमले धार्मिक आस्थासँगै थारू समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षणमा समेत महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्। कार्यक्रममा स्थानीय महिला, समुदायका अगुवा, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *