सुन्दरहरैँचाको स्पेलिङ कन्टेस्टमा हिमालयको दबदबा, तीनै तहमा प्रथम
सुन्दरहरैँचा (मोरङ) — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा सम्पन्न अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट–२०८३ मा हिमालय इङ्लिस स्कुलले तीनै तहमा प्रथम स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।
सुन्दरहरैँचा–१२ स्थित श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलमा शनिबार सम्पन्न प्रतियोगितामा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। विद्यार्थीको अंग्रेजी शब्दज्ञान, सही हिज्जे तथा उच्चारण क्षमता अभिवृद्धि गर्नुका साथै आत्मविश्वास विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको अध्यक्षता नेशनल प्याब्सन सुन्दरहरैँचा नगर अध्यक्ष भीम अधिकारीले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष तथा हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले विद्यालयस्तरमा आयोजना हुने सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। यस्ता प्रतियोगिताले अंग्रेजी भाषाप्रतिको रुचि, शब्दज्ञान, उच्चारण क्षमता तथा आत्मविश्वास बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
उनले प्रतियोगितालाई जित र हारमा मात्र सीमित नगरी विद्यार्थीको सिकाइ, क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासको अवसरका रूपमा लिनुपर्नेमा जोड दिए।
तीनै तहमा हिमालय प्रथम
प्रतियोगिताको प्रथम तहमा हिमालय इङ्लिस स्कुल प्रथम, पाठशाला दोस्रो, बाल बगैँचा तेस्रो र श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल चौथो भएका छन्।
त्यस्तै, दोस्रो तहमा पनि हिमालय इङ्लिस स्कुल प्रथम भएको छ। गुरुकुल दोस्रो, श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल तेस्रो, पाठशाला एकेडेमी चौथो, मदरल्याण्ड पाँचौँ र सप्तकोशी छैटौँ भएका छन्।
तेस्रो तहमा हिमालय इङ्लिस स्कुलले पुनः प्रथम स्थान हासिल गर्दा श्री इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुल दोस्रो, मदरल्याण्ड तेस्रो र पाठशाला चौथो भएका छन्।
यससँगै हिमालय इङ्लिस स्कुलले प्रतियोगिताका तीनै तहमा प्रथम स्थान हासिल गर्दै आफ्नो प्रभावशाली प्रदर्शन प्रस्तुत गरेको छ।
प्रत्येक तहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो। नेशनल प्याब्सन सुन्दरहरैँचा नगर समितिले विद्यार्थीको प्रतिभा, सिर्जनशीलता र क्षमता विकासमा सहयोग पुर्याउने यस्ता अतिरिक्त तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।




