राइजिङ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई छहारी अपर्च्युनिटिजको छात्रवृत्ति

एलएन गच्छदार

सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा रहेको द राइजिङ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीलाई छहारी एजुकेशन एण्ड  अपर्च्युनिटिज काठमाडौंले छात्रवृत्तिस्वरूप शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ।

विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न, आर्थिक अभावका कारण पठनपाठनमा समस्या हुन नदिन तथा विद्यालय शिक्षामा पहुँच बढाउने उद्देश्यले छात्रवृत्ति तथा सामग्री वितरण गरिएको हो।

छात्रवृत्तिअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा, टी–सर्ट, विद्यालय पोसाक, झोला, जुत्ता, किताब, स्टेसनरी सामग्री तथा विद्यालय शुल्कलगायतका सहयोग उपलब्ध गराइएको विद्यालयका भाइस प्रिन्सिपल परशुराम गुरागाईंले जानकारी दिए। विद्यार्थीको आवश्यकता पहिचान गरी अध्ययनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको उनले बताए।

नगर शिक्षा शाखा प्रमुख तेज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा यस्ता सहयोगले विद्यार्थीको सिकाइलाई निरन्तरता दिन तथा विद्यालय छाड्ने जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापाले आर्थिक तथा सामाजिक कारणले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए। विद्यार्थीको शैक्षिक विकासका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले छहारी अपर्च्युनिटिजको सहयोगले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गरे।

त्यसैगरी, विद्यालयका प्रिन्सिपल गोपाल पाठकले विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउन आवश्यक सामग्री तथा शुल्कमा गरिएको सहयोग महत्त्वपूर्ण रहेको बताए। शिक्षामा समान अवसर सुनिश्चित गर्न यस्ता सहयोगले सकारात्मक भूमिका खेल्ने उल्लेख गर्दै उनले सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।

शिक्षा केवल विद्यालयमा भर्ना हुनुमा मात्र सीमित नरही आवश्यक शैक्षिक सामग्री र अनुकूल वातावरणसहित गुणस्तरीय सिकाइको अवसर प्राप्त गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। विद्यार्थीको आवश्यकता सम्बोधन गर्ने यस्ता सामाजिक पहलले शिक्षामा पहुँच विस्तार गर्नुका साथै बालबालिकाको भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *