अध्यक्ष थापा मगरको जोड : ‘भवन बनेसँगै नागरिकले सहज र गुणस्तरीय सेवा पाउनुपर्छ’

८ करोड ७६ लाख लागतमा बुढीगंगाको प्रशासकीय भवन उद्घाटन, जनतामैत्री सेवा प्रवाहलाई प्राथमिकता

 

सुन्दरहरैंचा (मोरङ) । मोरङको बुढीगंगा गाउँपालिका–५ , हात्तीमुढामा ८ करोड ७६ लाख ४० हजार ६५३ रुपैयाँको लागतमा निर्माण गरिएको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। भवन उद्घाटनसँगै गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले भौतिक पूर्वाधार निर्माणसँगै नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु स्थानीय सरकारको मुख्य दायित्व भएको बताएका छन्।

९ कट्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको भवनले गाउँपालिकाको प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अध्यक्ष थापा मगरको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष अमृता कुमारी गच्छदार, प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराई, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङ प्रहरी प्रमुख कविता कटवाललगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष थापा मगरले बुढीगंगा गाउँपालिका विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, सडक, विद्युत् र कृषि क्षेत्रको विकासमा अघि बढिरहेको बताए। छोटो समयमै प्रशासकीय भवन निर्माण सम्पन्न हुनु गाउँपालिकाका लागि उपलब्धिमूलक भएको उल्लेख गर्दै उनले नयाँ भवनले प्रशासनिक कामलाई सहज बनाउनुका साथै नागरिकलाई सेवा लिन हुने झन्झट कम गर्ने विश्वास व्यक्त गरे।

अध्यक्ष थापा मगरका अनुसार भवनको शिलान्यास नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरेका थिए। भवन निर्माणका लागि आवश्यक बजेटमध्ये ६० प्रतिशत डा. कोइरालाको पहलमा र बाँकी ४० प्रतिशत गाउँपालिकाको बजेटबाट व्यवस्थापन गरिएको उनले जानकारी दिए।

भौतिक संरचना निर्माण मात्रै विकासको पूर्णता नभएको उल्लेख गर्दै अध्यक्ष थापा मगरले नागरिकको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर गाउँपालिकाले काम गरिरहेको बताए। अन्य पालिकामा फोहोर संकलनबापत मासिक शुल्क लिने व्यवस्था रहेको उल्लेख गर्दै उनले बुढीगंगामा वार्षिक ७५ रुपैयाँ मात्रै शुल्क लिने व्यवस्था गरिएको जानकारी दिए। नागरिकलाई रगत आवश्यक पर्दा त्यसको व्यवस्थापनमा समेत गाउँपालिकाले सहयोग गर्दै आएको उनको भनाइ थियो।

‘गाउँपालिका भनेको जनताको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर काम गर्ने निकाय हो,’ अध्यक्ष थापा मगरले भने, ‘विकास निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउनुपर्छ। गाउँपालिका सधैँ जनताको साथमा रहेर काम गरिरहेको छ।’

उनले गाउँपालिकाले भौतिक पूर्वाधार विकाससँगै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सेवा तथा सुविधालाई प्राथमिकता दिँदै आएको पनि बताए।

कार्यक्रममा उपाध्यक्ष अमृता कुमारी गच्छदारले नयाँ प्रशासकीय भवनले प्रशासनिक कामलाई व्यवस्थित बनाउन र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। भौतिक पूर्वाधारको विकाससँगै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिँदै उनले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्यबाट मात्रै गाउँपालिकाको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरिन्।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले नयाँ भवनले कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। भवनमा उपलब्ध सुविधाको सदुपयोग गर्दै सेवाग्राहीलाई छिटो, सहज, पारदर्शी र प्रभावकारी सेवा दिन कर्मचारीहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

भवन निर्माण निर्धारित समयमा सम्पन्न गर्न योगदान पुर्‍याएको भन्दै निर्माण व्यवसायी ब्राइट बुल निर्माण सेवा प्रालिका प्रतिनिधि राहुल भण्डारीलाई ११ किलोको माला लगाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो। गाउँपालिकाको कामकाज तथा सेवा प्रवाहमा योगदान पुर्‍याउने विभिन्न कर्मचारीलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले प्रशासकीय भवन निर्माण हुनु सकारात्मक उपलब्धि भए पनि यसको वास्तविक सफलता नागरिकले पाउने सेवाको गुणस्तरबाट मापन हुने बताएका थिए। उनीहरूले नयाँ भवनबाट सेवा प्रवाहलाई छिटो, पारदर्शी, सहज र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।

नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज थप व्यवस्थित हुने र नागरिकलाई विभिन्न सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। अब भवनलाई प्रभावकारी सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्दै नागरिकले अनुभूति गर्ने गरी सेवा सुधार गर्नु गाउँपालिकाको मुख्य चुनौती र जिम्मेवारी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *