ज्ञानज्योति स्कुलमा बालबालिकासँग दसैँको खुसी साटासाट
एलएन गच्छदार / सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित ज्ञानज्योति इङ्लिस स्कुलले प्रिस्कुलमा अध्ययनरत बालबालिकासँग दसैँको शुभकामना साटासाट गर्दै चाडपर्वको खुसी मनाएको छ।
दसैँको टीकाको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा बालबालिकालाई टीका र जमरा लगाइदिँदै दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी गराइएको थियो। बालबालिकाले एकअर्कासँग शुभकामना साटासाट गर्नुका साथै नृत्यलगायतका प्रस्तुति दिएर कार्यक्रमलाई उल्लासमय बनाएका थिए।
सानै उमेरदेखि बालबालिकालाई नेपाली मौलिक संस्कार, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। पुस्तकमा आधारित शिक्षासँगै व्यवहारिक गतिविधिमार्फत सिकाइ गराउँदा बालबालिकाले चाडपर्वको महत्त्व, पारिवारिक सम्बन्ध, आपसी सद्भाव, ठूलाप्रतिको सम्मान र मेलमिलापजस्ता जीवनोपयोगी मूल्य बुझ्न सक्ने विद्यालयको विश्वास छ।
विद्यालयका संस्थापक प्रिन्सिपल देवी सिटौलाले बालबालिकालाई औपचारिक शिक्षासँगै असल संस्कार, नैतिक मूल्य र सामाजिक व्यवहार सिकाउनु पनि विद्यालयको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए।
उनका अनुसार बाल्यकालमै सिकेका संस्कार र व्यवहारले बालबालिकाको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले पढाइसँगै नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएका गतिविधिलाई विद्यालयले प्राथमिकता दिँदै आएको उनले बताए।
“बालबालिकाले दसैँजस्ता चाडपर्वको महत्त्व बुझून् र आफ्ना संस्कार तथा संस्कृतिप्रति सम्मान गर्न सिकून् भन्ने हाम्रो उद्देश्य हो। सानै उमेरदेखि नैतिक शिक्षा, ठूलाप्रतिको सम्मान, आपसी सद्भाव र पारिवारिक आत्मीयताको भावना विकास गर्न सके उनीहरू असल र जिम्मेवार नागरिक बन्न सक्छन्,” सिटौलाले भने।
कार्यक्रममा बालबालिकाको उत्साहपूर्ण सहभागिताले विद्यालय परिसर दसैँमय बनेको थियो। टीका र जमरासँगै गीत, संगीत र नृत्यका माध्यमबाट बालबालिकाले चाडपर्वको खुसी अनुभव गरेका थिए। यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मक क्षमता, आत्मविश्वास र सामाजिक घुलमिल बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारिक जीवन, सामाजिक मूल्य र मौलिक पहिचानसँग जोड्नुपर्ने मान्यताअनुरूप ज्ञानज्योति इङ्लिस स्कुलले आयोजना गरेको यस कार्यक्रमले बालबालिकालाई रमाइलो वातावरणमा संस्कार, संस्कृति र परम्पराको महत्त्व सिकाउने प्रयास गरेको छ।
