परम्परा र संस्कृतिको संरक्षण गर्दै सफल सिद्धार्थ एकेडेमीमा दसैँको खुसी साटासाट
एलएन गच्छदार
सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बाँसबारीमा रहेको सफल सिद्धार्थ एकेडेमीले विजयादशमीको टीकाको पूर्वसन्ध्यामा विद्यार्थी तथा शिक्षकबीच दसैँको खुसी, माया र शुभकामना साटासाट गर्दै दसैँ विशेष कार्यक्रम मनाएको छ।
नेपाली मौलिक परम्परा, संस्कृति र संस्कारको संरक्षण तथा नयाँ पुस्तामा त्यसको हस्तान्तरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रममा बालबालिकाले दसैँको महत्त्व बुझ्दै आपसी सद्भाव, प्रेम, एकता र भाइचाराको सन्देश आदानप्रदान गरेका थिए।
विद्यालयले पठनपाठनसँगै बालबालिकालाई नेपाली चाडपर्व, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई महत्त्व दिँदै आएको छ। दसैँजस्ता मौलिक पर्वले परिवार, समाज र समुदायबीच आत्मीयता बढाउनुका साथै बालबालिकामा सामाजिक तथा सांस्कृतिक चेतना विकास गर्न सहयोग पुर्याउने विश्वास विद्यालयको छ।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले दसैँ नेपालीहरूको महान् पर्व मात्र नभई प्रेम, सद्भाव, एकता र पारिवारिक मिलनको प्रतीकसमेत भएको बताए। उनले बालबालिकालाई सानैदेखि आफ्नो मौलिक संस्कृति, परम्परा र संस्कारको महत्त्व बुझाउन आवश्यक रहेको उल्लेख गर्दै विद्यालयमा यस्ता कार्यक्रमले सिकाइलाई व्यवहारसँग जोड्ने बताए।
उनका अनुसार बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी नेपाली चाडपर्व र संस्कृतिसँग प्रत्यक्ष रूपमा जोड्न सके उनीहरूमा आफ्नो पहिचानप्रति सम्मान र सामाजिक सद्भावको भावना विकास गर्न सकिन्छ।
कार्यक्रमले शिक्षक तथा विद्यार्थीबीचको सम्बन्धलाई थप आत्मीय बनाउनुका साथै विद्यालयमा दसैँको उल्लासमय वातावरण सिर्जना गरेको थियो। आपसी माया, सद्भाव र शुभकामना साटासाट गर्दै मनाइएको कार्यक्रमले बालबालिकामा चाडपर्वप्रतिको उत्साह बढाउनुका साथै नेपाली मौलिक संस्कृतिको संरक्षणमा सकारात्मक सन्देश दिएको छ।
सफल सिद्धार्थ एकेडेमीले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेको छ।
