दुई दिनमै दोस्रो बङ्गलादेशी पक्राउ, सीमाक्षेत्रमा मानव तस्करी र ठगीको जोखिम बढ्दो
झापा । नेपाल–भारत सीमाक्षेत्रमा छोटो अवधिमै बङ्गलादेशी नागरिक पक्राउ पर्ने घटना दोहोरिएपछि वैदेशिक रोजगारीको नाममा हुने अन्तरदेशीय ठगी र अवैध आवागमनप्रति सुरक्षा निकायको चिन्ता बढेको छ। दुई दिनको अन्तरालमा दोस्रो बङ्गलादेशी नागरिक सीमाक्षेत्रबाट पक्राउ परेका हुन्।
भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४१औँ बटालियनअन्तर्गत बोर्डर इन्टेलिजेन्स टिम (बीआईटी)ले पानीट्यांकीस्थित पुरानो मेची पुलमा नियमित जाँचका क्रममा बङ्गलादेशको मदारीपुर जिल्लाको उमेदपुर गाउँ निवासी ३८ वर्षीय नन्दन दासलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनको साथबाट बङ्गलादेशी राहदानी, नेपाल प्रवेशका क्रममा प्रयोग गरिएको हवाई टिकट, दुईवटा बङ्गलादेशी सिमकार्ड, एउटा नेपाली सिमकार्ड रहेको मोबाइल फोन तथा भारतीय मुद्रा २ हजार ५८० रुपैयाँ बरामद भएको बताइएको छ।
प्रारम्भिक सोधपुछमा दासले सर्बियामा रोजगारीको अवसर दिलाइदिने भन्दै एक एजेन्टको विश्वासमा परेर लाखौँ रुपैयाँ खर्च गरी नेपाल आएको बताएका छन्। तर नेपाल आएपछि एजेन्ट सम्पर्कविहीन भएपछि उनी धोखाधडीको शिकार बनेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
आर्थिक समस्यापछि उनी केही समय पोखरामा मजदुरी गरेर बसेका थिए। करिब दुई महिना काम गरेपछि भारत हुँदै आफ्नो देश बङ्गलादेश फर्कने क्रममा सीमाक्षेत्रमा पक्राउ परेका हुन्।
यसअघि पनि जेठ ३० गते झापाको मेचीनगर नगरपालिका–६ गैरीगाउँ क्षेत्रमा भारतको पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै अनधिकृत रूपमा नेपाल प्रवेश गर्ने एक बङ्गलादेशी नागरिकलाई नियन्त्रणमा लिइएको थियो।
लगातार यस्ता घटना सार्वजनिक हुन थालेपछि नेपाल–भारत सीमालाई प्रयोग गरी हुने मानव तस्करी, अवैध आवागमन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीको जोखिम पुनः उजागर भएको छ। सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनुका साथै यस्ता घटनाको अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
