भारतीय अवरोधले संकटमा नेपाली चिया उद्योग, लाखौं किलो चिया थन्किएपछि कारखाना बन्द हुने जोखिम
इलाम । भारतले नेपाली चियाको आयातमा नयाँ गुणस्तर परीक्षण प्रक्रिया लागू गरेपछि नेपाली चिया उद्योग गम्भीर संकटमा परेको छ। भारतीय बजारमा लाखौं किलो तयारी चिया रोकिँदा उद्योगहरूको गोदाम भरिएका छन् भने किसानबाट खरिद गरिएको हरियोपत्तीको भुक्तानी गर्नसमेत कठिन हुने अवस्था सिर्जना भएको उद्योगीहरूले बताएका छन्।
चिया उत्पादक तथा प्रशोधक संघका अनुसार हाल तीन लाख किलोभन्दा बढी तयारी चिया भारतमा गुणस्तर परीक्षणका क्रममा रोकिएको छ भने नेपालका उद्योगहरूमा करिब सात लाख किलो चिया बिक्री हुन नसकी थन्किएको छ। पहिलो टिपाइ अर्थात् ‘फर्स्ट फ्लस’ उत्पादनको मुख्य सिजनमै निर्यात प्रभावित भएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।
भारतीय चिया बोर्डले १ मे २०२६ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी)’ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीमा ल्याइने चियाको छुट्टाछुट्टै गुणस्तर परीक्षण अनिवार्य गरिएको छ। परीक्षण प्रतिवेदन आउन तीन सातासम्म लाग्ने र त्यस अवधिमा चिया बिक्री गर्न नपाइने व्यवस्थाले उद्योगीहरू समस्यामा परेका छन्।
चिया उत्पादक तथा प्रशोधक संघका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार उद्योगमा तयार भएको चिया बिक्री हुन नसक्दा गोदाम भरिएका छन् र उत्पादन निरन्तर राख्न कठिन बन्दै गएको छ। उनले सरकारले तत्काल कूटनीतिक पहल नगरे चिया उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने चेतावनी दिए।
उद्योगी पुनम राईले भारतीय पक्षको नयाँ प्रक्रिया नेपाली चियामाथिको अप्रत्यक्ष व्यापारिक अवरोध भएको आरोप लगाइन्। उनका अनुसार भन्सारबाट प्रवेश अनुमति पाएपछि भारतीय बजार पुगेको चियालाई लामो समय रोक्नु र बिक्रीमा रोक लगाउनु अव्यावहारिक कदम हो।
उद्योगी गोपाल कट्टेलले भारतले प्रक्रियागत जटिलता सिर्जना गरी नेपाली चियाको बजार सीमित गर्न खोजेको आरोप लगाए। तयारी चिया बिक्री हुन नसकेपछि किसानलाई हरियोपत्तीको मूल्य भुक्तानी गर्न समस्या भएको भन्दै केही उद्योगले उत्पादन नै रोक्नुपर्ने अवस्था आएको उनले बताए।
चिया उद्योगको प्रमुख केन्द्र सूर्योदय नगरपालिकाले समेत भारतीय अवरोध हटाउन नेपाल सरकारमार्फत उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। नगरपालिकाले कोलकातास्थित गोदाममा रोकिएका नेपाली चियाको परीक्षण प्रतिवेदन समयमै नआउँदा बिक्री–वितरण ठप्प भएको जनाएको छ।
नगरपालिकाका अनुसार यस्तो गैरभन्सार अवरोध कायम रहे हजारौं किसान, श्रमिक तथा चिया उद्योगमा प्रत्यक्ष असर पर्नेछ। सूर्योदय नगरपालिकामा मात्रै करिब तीन हजार चिया किसान आबद्ध छन् र वार्षिक दुई करोड किलोभन्दा बढी हरियो चियापत्ती उत्पादन हुने गरेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तथ्यांकअनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स चिया निर्यात हुन्छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जाने गरेको छ। साथै वार्षिक करिब एक करोड किलो सिटिसी चिया पनि भारत निर्यात हुने गरेको छ। समग्रमा नेपालले प्रत्येक वर्ष करिब सवा चार अर्ब रुपैयाँ बराबरको तयारी चिया विदेश निर्यात गर्दै आएको छ।
भारतीय बजारमा अत्यधिक निर्भर रहेको नेपाली चिया उद्योग अहिले निर्यात अवरोध, बढ्दो मौज्दात र आर्थिक संकटको दोहोरो दबाबमा परेको छ। उद्योगीहरूले चिया क्षेत्रको अस्तित्व जोगाउन तत्काल सरकारी पहल र भारतसँग प्रभावकारी वार्ताको आवश्यकता औँल्याएका छन्।
