बाँदर नियन्त्रणका लागि दिक्तेल रूपाकोट मझुवागढीको नयाँ योजना, ‘बाली हेरालु’ राख्न ४५ लाख बजेट
खोटाङ । बाँदरलगायतका वन्यजन्तुले कृषि बालीमा पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्षदेखि ‘बाली हेरालु’ राख्ने योजना अघि सारेको छ। किसानको उत्पादन जोगाउने उद्देश्यसहित नगरपालिकाले यस कार्यक्रमका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
१५औँ नगरसभामार्फत पारित नीति तथा कार्यक्रमअनुसार बाँदरको बढी समस्या भएका वडा तथा टोलमा बाली हेरालु परिचालन गरिनेछ। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा वन्यजन्तुबाट हुने बाली क्षति न्यूनीकरणलाई विशेष प्राथमिकता दिइएको हो।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उक्त बजेटले किसानको उत्पादन वृद्धि र संरक्षणमा केन्द्रित कार्यक्रम समेटेको छ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार बाँदर समस्याको दीर्घकालीन समाधानका लागि संघीय सरकार तथा छिमेकी स्थानीय तहसँग समन्वय गरेर साझा रणनीति तयार गरिनेछ। उनले तत्काल राहतका लागि बाली हेरालु कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
नीति तथा कार्यक्रममा समेटिएको ‘किसानलाई के चाहिन्छ?’ अभियान पनि विशेष आकर्षण बनेको छ। यस कार्यक्रममार्फत कृषि प्राविधिक सेवा किसानको घरदैलोमै पुर्याइने, उन्नत बीउबिजन वितरण गरिने तथा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने जनाइएको छ।
यता, खोटाङका अन्य स्थानीय तहहरू पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममै छन्। हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले यसअघि नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।
जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकाले ८४ करोड ११ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ भने केपिलासगढी गाउँपालिकाले ४७ करोड ५१ लाख ५ हजार १७० रुपैयाँ को बजेट सार्वजनिक गरेको छ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा बाँकी स्थानीय तहहरूले पनि असार १० गते आफ्नो नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्।
