झापामा लागूऔषधविरुद्ध प्रहरीको विशेष अभियान : दुई दिनमै १०९ जना पक्राउ

झापा । लागूऔषध दुर्व्यसन र कारोबार नियन्त्रण गर्न झापा प्रहरीले सञ्चालन गरेको दुईदिने विशेष ‘स्वीप अपरेसन’मा १०९ जना लागूऔषध प्रयोगकर्ता तथा दुर्व्यसनी पक्राउ परेका छन्। अभियानका क्रममा ठूलो सङ्ख्यामा ब्राउन सुगर, खैरो हिरोइन तथा प्रतिबन्धित औषधिजन्य पदार्थ बरामद भएपछि जिल्लामा लागूऔषधको बढ्दो चुनौती थप स्पष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार अपरेसनको पहिलो दिन ६ महिलासहित ६८ जना र दोस्रो दिन ४१ जना पुरुष पक्राउ परेका हुन्। पक्राउ परेकाको साथबाट पहिलो दिन १९ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर र दोस्रो दिन २० ग्राम २० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्रै झापाबाट करिब चार किलोग्राम ब्राउन सुगर बरामद भइसकेको छ। भारतसँग जोडिएको खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध ओसारपसार बढ्दै गएको भन्दै प्रहरीले सीमा क्षेत्र तथा संवेदनशील स्थानमा निगरानी थप कडा बनाएको जनाएको छ।

यसै क्रममा शिवसताक्षी नगरपालिका–३ भोटेपुलबाट लागूऔषध सेवन तथा बिक्री–वितरणमा संलग्न रहेको आशंकामा २७ वर्षीय वीरगन्ज आङदम्बेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी धरमपुरबाट खटिएको टोलीले उनको साथबाट स्पासरेक्स र ट्रामाडोल क्याप्सुल बरामद गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ।

त्यसैगरी, भद्रपुर नगरपालिका–४ डाँगीबारीमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले दमक–३ निवासी २७ वर्षीय विकास भुजेल र भद्रपुर–७ निवासी ३० वर्षीया सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। लागूऔषध, मोटरसाइकल तथा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उता, सुनसरीको धरान–८ गणेशलक्ष्मी मार्गबाट पनि विशेष सूचनाका आधारमा प्रहरीले ३३ वर्षीय विक्रम उदासलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। उनको साथबाट १९ वटा पोका ब्राउन सुगर, नगद ५ हजार ७३० रुपैयाँ र मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध दुर्व्यसन त्यागौँ, स्वस्थ जीवन रोजौँ, उज्ज्वल भविष्य बनाऔँ’ भन्ने सन्देशसहित जिल्लाभर विशेष अभियान सञ्चालन गरेको हो। प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागूऔषध नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई परिवार, विद्यालय, स्थानीय तह र समाजका सबै पक्षको साझा दायित्व रहेको बताइन्।

प्रहरी तथ्यांकअनुसार लागूऔषधसँग सम्बन्धित घटनामा १६ देखि ३५ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएकाले युवा पुस्तालाई कुलतबाट जोगाउन परिवारिक निगरानी, समुदायस्तरीय सचेतना र प्रभावकारी कानुनी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *