विद्यालयमा सजाय र जरिवाना बन्द गर्न सुन्दरहरैंचा नगरपालिकाको निर्देशन
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बालमैत्री शिक्षाको वातावरण सुनिश्चित गर्न निर्देशन दिएको छ।
शिक्षा शाखाबाट जारी गरिएको सूचना अनुसार केही विद्यालयहरूले गृहकार्य नगरेको, नेपाली माध्यमबाट कुरा गरेको वा अन्य सामान्य कारण देखाउँदै विद्यार्थीलाई सजाय दिने वा जरिवाना गर्ने गरेको गुनासो आएकोप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नगर कार्यपालिकाको कार्यालय, सुन्दरहरैंचाबाट जारी सूचनामा भनिएको छ, “यदि कुनै विद्यालयले यस्तो कार्य गर्दै आएको भए तत्काल त्यस्ता क्रियाकलाप बन्द गरियोस्।” साथै, विद्यालय परिसर तथा कक्षाकोठाको वातावरण प्रचलित कानुन तथा विधि अनुसार बालमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ।
हाल नगरपालिकाले बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्दै यस क्षेत्रलाई बालमैत्री नगर घोषणा गर्न तयारी गरिरहेको जानकारी पनि दिइएको छ।
शिक्षा अधिकृतको हस्ताक्षरमा जारी सूचनाले विद्यालय सञ्चालक, शिक्षक तथा शिक्षा क्षेत्रमा संलग्न सबैलाई पठनपाठनको विधि, व्यवहार र वातावरणमा सुधार ल्याउन स्पष्ट निर्देश दिएको छ।
सुन्दरहरैंचाको पहिचान: समृद्धि र सुशासन भन्ने नाराका साथ अघि बढिरहेको नगरपालिकाले शिक्षालाई समावेशी, सहज र बालमैत्री बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

