इटहरीका सामुदायिक विद्यालयमा सुधारको आवश्यकता औँल्याउँदै अनुगमन सम्पन्न
इटहरी । इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि थालेको अनुगमनका क्रममा विद्यार्थी सङ्ख्याको असन्तुलन, पूर्वाधारको आवश्यकता तथा शिक्षण–सिकाइ पद्धतिमा सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ। केही विद्यालयमा पर्याप्त भौतिक संरचना हुँदाहुँदै विद्यार्थी सङ्ख्या न्यून रहेको पाइएको छ भने कतिपय विद्यालयमा आधारभूत शैक्षिक पूर्वाधार अभाव देखिएको छ।
उपमहानगरपालिकाले इटहरीका ३६ वटा सामुदायिक विद्यालयको अवस्था अध्ययन गर्न चारवटा अनुगमन टोली गठन गरेको छ। प्रत्येक टोलीमा शिक्षा शाखाका प्रतिनिधि, एक जना प्रधानाध्यापक तथा दुई जना विषयविज्ञलाई समावेश गरिएको छ। शिक्षा अधिकृत सन्तोष कार्की नेतृत्वको टोलीमा प्रधानाध्यापक पशुपति सिग्देल तथा विषयविज्ञ कमलराज दाहाल र विष्णु दाहाल सहभागी छन्।
टोलीले सोमबारसम्म ६ वटा विद्यालयको अनुगमन सम्पन्न गरिसकेको छ। अनुगमनबाट प्राप्त सुझाव, निष्कर्ष र विद्यालयहरूले औँल्याएका आवश्यकतालाई शिक्षा शाखामार्फत छलफल गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सम्बोधन गर्ने तयारी गरिएको छ।
शिक्षा अधिकृत कार्कीका अनुसार इटहरी–३ स्थित सिंहदेवी आधारभूत विद्यालयमा २९ जना विद्यार्थीका लागि ६ जना शिक्षक कार्यरत छन् भने इटहरी–२ स्थित शान्ति आधारभूत विद्यालयमा २६ विद्यार्थी र ६ शिक्षक रहेको पाइएको छ। उनले केही विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएकाले भविष्यमा विद्यालय समायोजन (मर्ज) सम्बन्धी विषयमा समेत गम्भीर छलफल आवश्यक हुन सक्ने बताए।
यता, इटहरी–२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा भवन, प्रयोगशाला तथा अन्य शैक्षिक पूर्वाधार थप गर्नुपर्ने आवश्यकता देखिएको टोलीले जनाएको छ। पर्याप्त पूर्वाधार नहुँदा शिक्षण–सिकाइ प्रक्रियामा असर परेको निष्कर्ष टोलीको छ।
अनुगमन टोलीका सदस्य तथा प्रधानाध्यापक पशुपति सिग्देलका अनुसार राष्ट्रिय शिक्षा नीतिले परिकल्पना गरेको सीपमूलक, व्यवहारिक र विद्यार्थीकेन्द्रित शिक्षालाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन र शिक्षण प्रणालीमा सुधार आवश्यक छ। उनले साना विद्यालयलाई फिडर विद्यालयका रूपमा विकास गर्दै विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराएर स्रोत–साधनयुक्त ठूला विद्यालयमा अध्ययनको व्यवस्था गर्न सकिने सुझाव दिए।
विषयविज्ञ कमलराज दाहाल र विष्णु दाहालले अधिकांश विद्यालयमा शिक्षण–सिकाइ पद्धतिमा अपेक्षित परिवर्तन आउन नसकेको बताएका छन्। उनीहरूका अनुसार विशेषगरी अङ्ग्रेजी शिक्षण अझै परम्परागत शैलीमा केन्द्रित रहेको र विद्यार्थीको सक्रिय सहभागितामूलक सिकाइलाई थप प्रवर्द्धन गर्न आवश्यक छ।
अनुगमनका क्रममा इटहरी–३ स्थित सरस्वती माध्यमिक विद्यालयमा भवनलगायत भौतिक संरचना भए पनि शैक्षिक सामग्री, प्रयोगात्मक सिकाइका साधन तथा विद्यार्थीमैत्री वातावरण थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। साथै वर्षायाममा विद्यालय परिसरमा पानी जम्ने समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको टोलीले जनाएको छ।
अनुगमन टोलीले विद्यालयहरूको अवस्था फरक–फरक भए पनि सामुदायिक शिक्षाको गुणस्तर वृद्धि, विद्यार्थी आकर्षण बढाउने रणनीति, पूर्वाधारको प्रभावकारी व्यवस्थापन तथा आधुनिक शिक्षण विधिको प्रयोग अहिलेको प्रमुख आवश्यकता रहेको निष्कर्ष निकालेको छ। प्राप्त सुझाव र निष्कर्ष आगामी शिक्षा समितिको बैठकमा प्रस्तुत गरी आगामी आर्थिक वर्षको योजना तथा बजेटमा समावेश गरिने उपमहानगरपालिकाले जनाएको छ।
