भारतीय कडाइले इलामको चिया उद्योग संकटमा, असार १ देखि ५३ उद्योग बन्द हुने तयारी
इलाम । भारतीय बजारमा नेपाली चिया निर्यातमा लगाइएको नयाँ प्राविधिक कडाइका कारण इलामको सूर्योदय क्षेत्रको चिया उद्योग गम्भीर संकटमा परेको छ। उत्पादन भएर तयारी अवस्थामा रहेको लाखौँ किलो चिया बिक्री हुन नसकेपछि ५३ वटा अर्थोडक्स चिया उद्योगले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार भारततर्फ निर्यात गरिएको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणको नाममा विभिन्न स्थानमा रोकिएको छ भने उद्योगहरूमा सात लाख किलोभन्दा बढी तयारी चिया गोदाममै थन्किएको छ। भण्डारण क्षमता पूर्ण रूपमा भरिएपछि थप उत्पादन राख्न सक्ने अवस्था नरहेको उद्योगीहरूको भनाइ छ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार किसानबाट खरिद गरिएको हरियो चिया पत्ती प्रशोधन गरेर तयारी चिया बनाइए पनि बजारमा बिक्री हुन सकेको छैन। “गोदाममा राख्ने ठाउँसमेत भरिसकेको छ। किसानको भुक्तानी रोक्न सकिँदैन, तर उत्पादन बिक्री नहुँदा उद्योग सञ्चालन गर्न कठिन भएको छ,” उनले बताए।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार चियाको प्रत्येक खेपको छुट्टाछुट्टै नमुना परीक्षण गर्नुपर्ने, प्रयोगशालाको प्रतिवेदन आउन २० दिनभन्दा बढी समय लाग्ने र नतिजा नआएसम्म चिया बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा नेपाल फिर्ता ल्याउनुपर्ने बाध्यता समेत रहेको छ।
उद्योगी गोपाल कट्टेलले भारतीय पक्षले सिर्जना गरेका प्राविधिक झन्झटका कारण नेपाली चियाको निर्यात मार्ग नै अवरुद्धजस्तै भएको बताए। “गुणस्तरीय चिया उत्पादन गरेर बजारसम्म पुर्याउने बाटो नै रोकिएको छ। सरकारले तत्काल कूटनीतिक पहल नगरे नेपाली चियाको अर्बौँ रुपैयाँ बराबरको बजार गुम्ने खतरा छ,” उनले भने।
चिया उद्योग बन्द हुँदा यसको प्रत्यक्ष असर हजारौँ किसानको जीविकोपार्जनमा पर्ने देखिएको छ। सूर्योदय नगरपालिकामा मात्रै दुई हजार ९९५ चिया किसान आबद्ध छन्। करिब ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा फैलिएको चिया खेतीबाट वार्षिक दुई करोड किलोभन्दा बढी हरियो चिया पत्ती उत्पादन हुने गरेको छ।
स्थानीय किसानहरू उद्योग बन्द हुने निर्णयले थप चिन्तित बनेका छन्। “हाम्रो मुख्य आम्दानीको स्रोत नै चिया हो। उद्योग बन्द भएपछि हरियो पत्ती बिक्री हुँदैन, परिवारको खर्च कसरी चलाउने भन्ने चिन्ता बढेको छ,” किसान राजन भट्टराईले बताए।
सूर्योदय नगरपालिकाले पनि नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन संघीय सरकारमार्फत भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालका अनुसार कोलकाताका गोदाममा पुगेका नेपाली चियाको भारतीय चिया बोर्डले प्रत्येक बोराबाट नमुना संकलन गरेर परीक्षण गरिरहेको छ। तर, एक साताभन्दा बढी समय बितिसक्दा पनि प्रतिवेदन नआउँदा चियाको बिक्री पूर्ण रूपमा रोकिएको छ।
लामो समय गोदाममै थन्किँदा चियाको गुणस्तर घट्ने र बिग्रिने जोखिम बढ्दै गएको नगरपालिकाको भनाइ छ। त्यसैले भारतीय अवरोध हटाउन नेपाल सरकारले तत्काल कूटनीतिक संवाद सुरु गर्नुपर्ने स्थानीय तह, उद्योगी र किसानहरूको साझा माग रहेको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट प्रत्येक वर्ष ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जाने गर्छ। वार्षिक करिब सवा चार अर्ब रुपैयाँभन्दा बढी मूल्यको नेपाली चिया निर्यात हुने भएकाले अहिले देखिएको समस्या समाधान नभए देशको चिया क्षेत्र र हजारौँ किसानको भविष्यमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
