सुन्दरहरैंचा नगरपालिकामा बिराट भेट्रान ए र बि बीच फाइनल भिडन्त
एलएन गच्छदार
सुन्दरहरैंचा नगरपालिकामा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेल आज घरेलु टोली बिराट भेट्रान ए र बिराट भेट्रान बि बीच सुकुना चौरी मैदानमा हुने भएको छ।
हिजो शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा बिराट भेट्रान ए ले दुधे भेट्रान झापालाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। खेलको एकमात्र निर्णायक गोल भूपेन्द्र लिम्बुले गरेका थिए।
यस्तै, अर्को सेमिफाइनल खेलमा बिराट भेट्रान बि ले पूर्वेली भेट्रान बिर्तामोडलाई २-१ गोलको अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। बिराट भेट्रान बि का तर्फबाट दुवै गोल चरण गुरुङले गरेका थिए।
आजको फाइनल खेल दुई घरेलु टोलीको भिडन्तका कारण थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
विजयी टिमलाई नगद १ लाख १ हजार १११ रुपैयाँ नगदका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ। त्यस्तै, उपविजेता टिमलाई नगद ५० हजार ५५५ रुपैयाँका साथै विभिन्न विधागत पुरस्कार, ट्रफी र मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ।
यस रोमाञ्चक खेलले प्रतियोगिताको विजेता टिम निर्धारण गर्नेछ र स्थानीय खेलप्रेमीहरूको आकर्षणको केन्द्र बनेको छ।
