सुन्दरहरैँचामा विराट एक्स्पो प्रवर्द्धनका लागि पैदलयात्रा कार्यक्रम
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा उधोग बाणिज्य संघको आयोजनामा हुने विराट एक्स्पो संस्करण चारको प्रवर्द्धनका लागि शनिबार बिहान पैदलयात्रा कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम खोर्सानेदेखि सलकपुरसम्म आयोजना गरिएको हो।
पैदलयात्रामा स्थानीय समुदाय, व्यवसायी, समाजसेवी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। एक्स्पोको प्रचार-प्रसार र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सम्पूर्ण नगरवासीलाई विराट एक्स्पोप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।
विराट एक्स्पो-चारले क्षेत्रीय व्यापार, उद्योग, कृषि, पर्यटन र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुर्याउने लक्ष्य राखेको एक्स्पो मुलसमारोह समितिका संयोजक भोलेश्वर दुलालले बताए । पैदलयात्रा कार्यक्रमको क्रममा सहभागीहरूले एक्स्पोसम्बन्धीस्थानीय उत्पादन र सेवाका बारेमा जनचेतना अभिवृद्धि गरेका थिए।
विराट एक्स्पो-चार यही माघ ३० गतेदेखि सुरु हुँदैछ। यसमा कृषि, पर्यटन, उद्योग, व्यवसाय, सूचना प्रविधि र अन्य क्षेत्रका विभिन्न स्टलहरू रहनेछन्। सुन्दरहरैंचा उधोग बाणिज्य संघका अध्यक्ष नारायण कार्कीले एक्स्पोमा व्यापक सहभागिता र सहकार्यको अपेक्षा राखेको छ।
