किसानको बक्यौता विवादबीच डिडिसीमा सिआइबी छानबिन, महत्वपूर्ण कागजात नियन्त्रणमा
काठमाडौं । किसानलाई दूधको भुक्तानी दिन नसकेको विषयमा विवाद बढिरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुग्ध विकास संस्थान (डिडिसी) मा छानबिन अघि बढाएको छ। अनुसन्धानका क्रममा सिआइबीले डिडिसीबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाएको छ।
सिआइबीको टोली मंगलबार लैनचौरस्थित डिडिसी कार्यालय पुगेको थियो। टोलीले संस्थानको वित्तीय अवस्था, भुक्तानी प्रक्रिया र किसानको बक्यौतासँग सम्बन्धित कागजात संकलन गरेको स्रोतले जनाएको छ। सिआइबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले प्राप्त सूचनाका आधारमा अनुसन्धान प्रक्रिया सुरु गरिएको जानकारी दिए।
उनले भने, “हामीलाई प्राप्त भएको विषयमा आवश्यक अनुसन्धान गरिरहेका छौँ। अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएका हौँ, अन्य तथ्य अनुसन्धानपछि स्पष्ट हुँदै जान्छन्।” डिडिसीले लामो समयदेखि किसानलाई दूध बिक्रीबापतको रकम भुक्तानी गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको छ। संस्थानमाथि किसानको करोडौँ रुपैयाँ बक्यौता रहेको बताइँदै आएको छ, जसका कारण विभिन्न जिल्लाका किसान आन्दोलितसमेत भएका छन्।
यता, डिडिसीले भने बक्यौता रकम क्रमशः भुक्तानी गर्न सुरु गरिएको जनाएको छ। संस्थानका अनुसार हाल दैनिक करिब एक करोड रुपैयाँका दरले किसानलाई भुक्तानी भइरहेको छ।किसानको भुक्तानी विवाद र संस्थानको आर्थिक व्यवस्थापनबारे उठेका प्रश्नबीच सिआइबीको अनुसन्धानलाई चासोका साथ हेरिएको छ।
