नेपालमा सवारी साधनको संख्या ६२ लाख नाघ्यो, ४१ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण
काठमाडौं । नेपालमा सवारी साधन र स्मार्ट चालक अनुमतिपत्र (लाइसेन्स) को संख्या उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालू आर्थिक वर्षको फागुनसम्म देशभर ४१ लाखभन्दा बढी स्मार्ट लाइसेन्स वितरण गरिएको छ भने दर्ता भएका सवारी साधनको संख्या ६२ लाख नाघेको छ।
सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुनसम्म मात्रै ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण गरिएको छ। हालसम्म कुल ४१ लाख १४ हजार १८१ थान स्मार्ट लाइसेन्स वितरण भइसकेको उल्लेख गरिएको छ।
यस्तै, इम्बोस्ड नम्बर प्लेट उत्पादनको काम पनि निरन्तर जारी रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा पाँच हजार १८६ थान जडान गरिएको छ। हालसम्म कुल आठ लाख ३१ हजार ५९ थान प्लेट उत्पादन हुँदा ८८ हजार ३४० थान मात्रै जडान भएको तथ्यांकमा उल्लेख छ।
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई थप सरल, व्यवस्थित र प्रभावकारी बनाउन ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१’ कार्यान्वयनमा ल्याएको जनाएको छ।आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षको फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार तथा मोटरसाइकललगायत दुई लाख ८१ हजार ९२१ सवारी साधन दर्ता भएका छन्। यससँगै देशभर दर्ता भएका कुल सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ।
दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी मोटरसाइकल रहेको उल्लेख गर्दै सर्वेक्षणले नेपालमा निजी सवारी प्रयोग तीव्र रूपमा बढिरहेको संकेत गरेको छ।
