मेची रङ्गशालामा फ्लडलाइट जडान सुरु, भद्रपुरमा रात्रिकालीन खेल सञ्चालनको बाटो खुल्ने
झापा । भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालालाई आधुनिक खेल पूर्वाधारयुक्त बनाउने उद्देश्यसहित फ्लडलाइट जडान प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि तीन करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि परियोजनाले गति लिएको हो।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका फुटबल प्रतियोगिता नियमित आयोजना हुँदै आएको मेची रङ्गशालामा अब रात्रिकालीन खेल गतिविधि सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा यहाँ दुई अन्तरराष्ट्रिय टोली सहभागी फुटबल प्रतियोगिता सम्पन्न भइसकेका छन् भने राष्ट्रपति रनिङ शिल्डजस्ता जिल्लास्तरीय खेलकुद कार्यक्रम पनि यही मैदानमा हुँदै आएका छन्।
फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्करप्रसाद पोखरेल, नगरपालिकाका तर्फबाट नगरप्रमुख गणेश पोखरेल तथा खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णुकुमार नेम्वाङले हस्ताक्षर गरेका छन्।
भद्रपुर नगरपालिकाले मेची रङ्गशालालाई आधुनिक सुविधासम्पन्न रंगशालाका रूपमा विकास गर्ने लक्ष्यसहित परियोजना अघि बढाइएको जनाएको छ। नगरप्रमुख गणेश पोखरेलले फ्लडलाइट जडान सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन फुटबलसहित अन्य खेल प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए।
विशेषगरी ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ जस्ता प्रतियोगिताले भद्रपुरलाई राष्ट्रिय खेलकुद केन्द्रका रूपमा स्थापित गर्दै लगेपछि आधुनिक खेल पूर्वाधारको आवश्यकता बढ्दै गएको थियो। पछिल्लो समय क्रिकेट र फुटबलका विभिन्न प्रतियोगिता नियमित हुन थालेपछि फ्लडलाइट जडानलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
सम्झौताअनुसार प्रदेश सरकारले परियोजनाका लागि आवश्यक बजेट उपलब्ध गराउनेछ। झापा जिल्ला खेलकुद विकास समितिले आवश्यक जग्गा उपलब्ध गराउनेछ भने भद्रपुर नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणमार्फत विद्युत् मिटर जडान तथा विद्युत् शुल्क व्यवस्थापन गर्ने जिम्मेवारी लिएको छ।
फ्लडलाइट जडान सम्पन्न भएपछि सम्पूर्ण संरचना औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख गरिएको छ।





