आफूविरुद्ध चरित्रहत्या गरिएको भन्दै सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध तथ्यहीन र भ्रमपूर्ण समाचार प्रकाशित गरिएको आरोप लगाउँदै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्।
केही दिनअघि एक अनलाइन मिडियामा प्रकाशित “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकको समाचारले आफ्नो चरित्रहत्या गरेको भन्दै उनले सम्बन्धित पत्रकार र सञ्चारमाध्यममाथि कानुनी कारबाहीको माग गरेका हुन्।
गुरुङले उक्त समाचार पूर्ण रूपमा कपोलकल्पित, भ्रामक र नियोजित ढंगले प्रकाशित गरिएको दाबी गरेका छन्। उनले पारिवारिक भ्रमणलाई अनावश्यक रूपमा विवादित बनाउँदै आफूलाई बदनाम गर्ने प्रयास गरिएको आरोप पनि लगाएका छन्।
यस विषयमा उनले समाचार प्रकाशित गर्ने संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाही तथा सजायको माग गर्दै औपचारिक उजुरी दर्ता गराएको बताएका छन्।
गुरुङले पत्रकारिताको आडमा “पित पत्रकारिता” गरिएको उल्लेख गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न प्रेस काउन्सिलसँग आग्रह गरेका छन्।
