नीति तथा कार्यक्रम विवादले तातियो कोशी प्रदेशसभा, प्रतिपक्षको नाराबाजीपछि बैठक स्थगित

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबार प्रदेशसभा बैठक तनावग्रस्त बनेको छ। संशोधन प्रस्ताव दर्ता गर्न पर्याप्त समय नदिई नीति तथा कार्यक्रम पारित गरिएको आरोप लगाउँदै प्रतिपक्षी दलका सांसदहरूले बैठकमा तीव्र विरोध जनाएका हुन्।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरूले संसदीय प्रक्रिया मिचिएको भन्दै विरोध गरे। सभामुख अम्बरबहादुर विष्टले कार्यसूची अगाडि बढाउने प्रयास गरेपछि प्रतिपक्षी सांसदहरू रोष्ट्रम अगाडि पुगेर नाराबाजीमा उत्रिएका थिए।

विरोधका क्रममा पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईले रोष्ट्रममा राखिएको माइक खोस्ने प्रयास गरेका थिए। त्यसपछि मर्यादापालकहरूले हस्तक्षेप गर्दै उनलाई रोकेका थिए।

लगातारको अवरोधपछि सभामुख विष्टले संसद्लाई सम्बोधन गर्दै संशोधनका लागि समय नदिइएको भन्ने आरोप अस्वीकार गरे। उनले तोकिएको समयभित्र कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएकाले प्रक्रियाअनुसार नीति तथा कार्यक्रम पारित गरिएको स्पष्ट पारे।

सभामुख विष्टले नीति तथा कार्यक्रम सर्वसम्मत नभई प्रतिपक्षी दलहरूको असहमतिसहित बहुमतबाट पारित भएको विवरण संसद्को अभिलेखमा समावेश गरिएको जानकारीसमेत दिए।

प्रतिपक्षी दलहरूको नाराबाजी र अवरोध जारी रहेपछि बैठक सञ्चालन गर्न कठिन भएपछि सभामुखले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम भने गत सोमबारको बैठकबाट बहुमतका आधारमा पारित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *