महावीर पुनको आग्रह : अनुसन्धान र प्रविधिमा बजेट बढाउनुपर्छ

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन ले देशको आर्थिक सुधारका लागि अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा चलचित्र विधेयकमाथिको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान सरकारले नवप्रवर्तनको महत्त्वलाई पर्याप्त रूपमा नबुझेको टिप्पणी गरे ।

उनले कुल पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत रकम अनुसन्धान तथा प्रविधिका क्षेत्रमा छुट्याउनुपर्ने माग गर्दै यस्तो लगानीले मात्रै उत्पादन, रोजगारी र आर्थिक विकासलाई टेवा पुग्ने बताए । “नेपालमा आयात भइरहेका सामानमध्ये कम्तीमा १० देखि २० प्रतिशत वस्तु स्वदेशमै उत्पादन गर्न सकियो भने मात्रै अर्थतन्त्र बलियो हुन्छ,” पुनले भने ।

चलचित्र क्षेत्रबारे बोल्दै उनले फिल्मलाई केवल मनोरञ्जनको माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरे । चलचित्र शिक्षा, सामाजिक न्याय र जनचेतनाका लागि प्रभावकारी माध्यम बन्न सक्ने उनको धारणा थियो । उनले आफूले सन् २००० मा पोखरामा ‘कारभान’ फिल्म हेरेपछि हालसम्म कुनै चलचित्र नहेरेको पनि खुलासा गरे ।

पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई देशकै सबैभन्दा संवेदनशील मन्त्रालय बनाउनुपर्ने धारणा राख्दै यसको नेतृत्व प्रधानमन्त्री स्वयंले गर्नुपर्ने बताए । मन्त्रालयमा राजनीतिक नियुक्तिभन्दा विषय विज्ञलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । आफू मन्त्री बन्ने उद्देश्यले यस्तो कुरा नउठाएको स्पष्ट पार्दै उनले देशका शीर्ष नेता र युवापुस्तालाई देश र जनताको हितमा सोचेर काम गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *