उदयपुर प्रशासनको नयाँ पहल : अब निवेदन लेख्न निःशुल्क सहयोग
उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले सेवाग्राहीलाई सहज, प्रभावकारी र नागरिकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क निवेदन लेखन सेवा सुरु गरेको छ।
कार्यालयले बुधबार सूचना जारी गर्दै प्रशासन परिसरको भुइँतलामा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको हो। सहायता कक्षमार्फत निवेदन लेख्न आवश्यक भए पनि आफैं तयार गर्न नसक्ने सेवाग्राहीलाई निःशुल्क रूपमा सहयोग प्रदान गरिनेछ।
विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, गर्भवती महिला तथा निवेदन लेख्न कठिनाइ हुने सेवाग्राहीलाई लक्षित गरी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मेघबहादुर मग्रातीका अनुसार सेवाग्राहीले कुनै अतिरिक्त शुल्क नतिरी आवश्यक निवेदन तयार गराउन सक्नेछन्। प्रशासनिक सेवामा सबै नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको उनले बताए।
कार्यालयले सेवा प्रवाहलाई थप सरल, प्रभावकारी र नागरिकमैत्री बनाउने अभियानअन्तर्गत सहायता कक्ष स्थापना गरिएको उल्लेख गरेको छ। आवश्यक परे सहायता कक्षमा सम्पर्क गरी उपलब्ध सेवाको लाभ लिन पनि सेवाग्राहीलाई आग्रह गरिएको छ।
यस व्यवस्थाले निवेदन लेखनकै कारण सेवाग्राहीले भोग्दै आएका झन्झट, समयको बर्बादी तथा अतिरिक्त खर्च कम हुने विश्वास प्रशासनको छ। साथै प्रशासनिक सेवामा नागरिकको पहुँच थप सहज र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ।
स्थानीयवासीले प्रशासन कार्यालयको यो पहललाई सेवाग्राहीमैत्री तथा स्वागतयोग्य कदमका रूपमा लिएका छन्। प्रशासनले सबै सरोकारवालालाई सेवाबारे जानकारी लिन र आवश्यकता अनुसार नागरिक सहायता कक्षको उपयोग गर्न अनुरोध गरेको छ।
