अनलाइन बेटिङबाट करोडौंको कारोबार , झापाका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

झापा । अनलाइन बेटिङमार्फत अवैध रूपमा ठूलो रकम आर्जन गरेको आरोपमा पक्राउ परेका झापाका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको छ। यससँगै अनलाइन सट्टाबाजीको अनुसन्धान साइबर अपराधको दायराबाट अघि बढेर आर्थिक अपराधतर्फ केन्द्रित भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत वैशाख २७ गते बिर्तामोडबाट पक्राउ परेका मेचीनगर–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड–६ का ३६ वर्षीय भुवन मेचेविरुद्ध अनलाइन बेटिङ सञ्चालन गरेको आरोपमा अनुसन्धान भइरहेको छ। उनीहरूलाई बिर्तामोडस्थित विभिन्न होटल तथा क्याफेबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरूले अनलाइन सट्टाबाजीमार्फत उल्लेख्य रकम आर्जन गरेको र त्यसको वास्तविक स्रोत लुकाएर वैध आम्दानीका रूपमा देखाउने प्रयास गरेको संकेत देखिएको जनाएको छ। यही आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको हो।

हाल प्रहरीले दुवै जनाको बैंकिङ कारोबार, डिजिटल वालेट, सम्पत्ति खरिद–बिक्री, लगानी तथा अन्य आर्थिक गतिविधिको विस्तृत अध्ययन गरिरहेको छ। अनलाइन बेटिङबाट प्राप्त रकम विभिन्न माध्यममार्फत घुमाएर वैध बनाउने प्रयास भएको वा नभएको विषय अनुसन्धानको मुख्य केन्द्रमा रहेको बताइएको छ।

नेपालमा अनलाइन बेटिङ कानुनविपरीत मानिन्छ। पछिल्ला वर्षहरूमा मोबाइल एप, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत यस्तो गतिविधि विस्तार हुँदै जाँदा त्यससँग जोडिएका आर्थिक कारोबार पनि बढेका छन्। यसै कारण अनुसन्धान निकायहरूले यस्ता गतिविधिलाई संगठित आर्थिक अपराधका रूपमा समेत हेर्न थालेका छन्।

प्रहरीका अनुसार अनलाइन बेटिङबाट कमाइएको रकम अन्य व्यक्तिको नाममा राख्ने, बैंकिङ प्रणालीमार्फत स्थानान्तरण गर्ने तथा विभिन्न सम्पत्तिमा लगानी गरी स्रोत लुकाउने प्रवृत्ति बढ्दो छ। यही कारण पछिल्लो समय यस्ता घटनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी प्रावधानसमेत प्रयोग गर्न थालिएको हो।

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूसँग जोडिएका अन्य व्यक्ति वा सम्भावित सञ्जालबारे पनि खोजबिन भइरहेको प्रहरीले जनाएको छ। प्राप्त प्रमाणका आधारमा थप व्यक्तिहरू पनि कानुनी दायरामा आउन सक्ने सम्भावना रहेको छ।

झापामा पहिलो पटक अनलाइन बेटिङसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा अघि बढाइएको यो घटनालाई अवैध डिजिटल आर्थिक गतिविधिविरुद्धको अनुसन्धानमा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *