स्वस्थ समाज, सुरक्षित यात्रा : लागूपदार्थमुक्त चालक निर्माणमा गछिया युवा समाजको अभियान
एल.एन. गच्छदार
सुन्दरहरैँचा, मोरङ । “स्वस्थ समाज, सुरक्षित यात्रा, लागूपदार्थमुक्त चालक गछिया युवा समाजको प्रतिबद्धता” भन्ने मूल नारासहित गछिया युवा समाज, सुन्दरहरैँचा–३ ले चालकहरूलाई लक्षित गरी लापसे (लागूपदार्थ सेवन) तथा मापसे (मादक पदार्थ सेवन) चेकजाँच तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
“सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता” भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने १०० भन्दा बढी सवारी चालकहरूको लापसे तथा मापसे परीक्षण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको उद्देश्य सडक दुर्घटना न्यूनीकरण, चालकहरूमा जिम्मेवारीबोध अभिवृद्धि तथा लागू पदार्थ र मदिरा सेवनविरुद्ध जनचेतना फैलाउनु रहेको बताइएको छ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, कोशी प्रदेश इटहरी, इलाका प्रहरी कार्यालय बेलबारी, प्रहरी चौकी गछिया तथा ट्राफिक प्रहरी पोस्ट गछियाले प्राविधिक सहयोग प्रदान गरेका थिए। सुरक्षा निकायको सहकार्यमा गरिएको परीक्षण तथा परामर्श कार्यक्रमले चालकहरूलाई सुरक्षित सवारी सञ्चालनका लागि प्रेरित गरेको आयोजकको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि देवराज तामाङले सडक सुरक्षाको आधार नै चालकको सचेतना भएको उल्लेख गर्दै मदिरा वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु आफैं र अरूको जीवनमाथिको गम्भीर जोखिम भएको बताए। उनले दुर्घटना न्यूनीकरणका लागि यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले समाजमा बढ्दो सडक दुर्घटना तथा लागू पदार्थ दुर्व्यसनको समस्यालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए। सुरक्षित समाज निर्माणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिने बताए।
आश्रय सुधार केन्द्रका कार्यक्रम संयोजक सेवक खत्रीले लागू पदार्थ दुर्व्यसन आज समाजका लागि गम्भीर चुनौतीका रूपमा देखिएको बताउँदै यसको नियन्त्रणका लागि समुदाय, परिवार, युवा तथा सम्बन्धित निकायबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखे। उनले चालकहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता सचेतनामूलक कार्यक्रमले लागू पदार्थविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्नुका साथै दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कोशी प्रदेश प्रहरी अस्पताल, इनरुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. अनुज श्रेष्ठले लागू पदार्थ तथा मदिरा सेवनले चालकको निर्णय क्षमता, एकाग्रता र प्रतिक्रिया समयलाई कमजोर बनाउने भएकाले दुर्घटनाको जोखिम बढ्ने बताए। उनले नियमित स्वास्थ्य परीक्षण, प्रभावकारी कानुनी निगरानी तथा जनचेतना अभिवृद्धिमार्फत सडक दुर्घटना न्यूनीकरण गर्न सकिने धारणा राखे।
गछिया युवा समाजका अनुसार स्वस्थ समाज निर्माण, सुरक्षित यात्रा प्रवर्द्धन तथा लागूपदार्थमुक्त चालक तयार गर्ने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइनेछ। स्थानीयवासी, सामाजिक अभियन्ता, सुरक्षा निकाय तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमलाई समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उदाहरणीय पहलका रूपमा हेरिएको छ।
