रैब पर्व मनाउँदै पूर्वी नेपालका थारू समुदाय

मोरङ : पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन् ।
यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिनररैब पर्व वा बडका अटवारीका रुपमा मनाउने गरिन्छ । यसवर्ष बडका अट्वारी भने भदौ २३ गते परेको छ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ । यसपर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ ।आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद् भुलाइ चौधरी बताउँछन् ।उनी भन्छन्,’थारुहरु प्रकृतिका पूजारी हुन्। त्‍यसकारण प्रकृतिमा पाइने फलफूल, दूध, दही खानुपर्छ। सूर्य प्रकृतिमा सबैमा ठूलो शक्तिको स्रोत हो। यसको प्रकाशले रोग, व्याधि सबै नाश हुने भएकाले यसको उपासना गर्दै आएका छौं।’

यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाउ, पोखरी वा खोलामा स्नान गरी प्रकृति र कूल देवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् ।यसैगरी धार्मिक मान्यता अनुसार बाल(बच्चालाई सुस्वास्थ्यको कामना गर्नुको साथै कृषिजन्य उत्पादनमा वृद्धिको लागि समयमा वर्षा होस्, बाली नालीमा रोगव्याधि नलागोस् भन्ने कामना गर्दै यो पर्व मनाउने चलन रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *