‘पैसा नदिई ऋणी बनाइयो’ : जग्गा गुमाएपछि न्यायको खोजीमा भागबती
योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ)
पत्रकार सम्मेलनको हलमा बोल्न उभिएकी भागबती थारुको स्वर बारम्बार अवरुद्ध भइरहेको थियो। आँखाबाट आँसु झरिरहेका थिए, शब्दहरू काँपिरहेका थिए। जीवनभरको मेहनतले जोडेको सम्पत्ति गुमाएको पीडाले उनी यति भावुक बनेकी थिइन् कि उपस्थित धेरैको मन नै छोयो।
“हामीलाई पैसा पनि दिइएन, तर ऋणी बनाइयो,” उनले आँसु पुछ्दै भनिन्, “अन्त्यमा हाम्रो दुई कट्ठा १६ धुर जग्गा पनि गयो। अब हामी कहाँ जाने ?”
मोरङको ग्रामथान गाउँपालिका–४ की भागबती थारु र उनका पति सम्पन्न कुमार माझीको कथा केवल एउटा जग्गा विवादको कथा होइन। यो गरिबी, अशिक्षा र न्यायको खोजीमा भौंतारिएको एक परिवारको व्यथा हो।
भागबतीका अनुसार २०७३ सालमा स्थानीय मेगनाथ माझी र तारिक चन्द माझीले विभिन्न बहाना बनाएर आफूहरूलाई कागजातमा हस्ताक्षर गराए। उनीहरू भन्छन्, पाँच लाख र सात लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ ऋण दिएको उल्लेख गरेर कपाली तमसुक तयार गरियो, तर वास्तविक रूपमा एक रुपैयाँ पनि हातमा परेन।
“हामीलाई के कागजमा सही गराइँदैछ भन्ने थाहा थिएन,” भागबती सम्झिन्छिन्, “छोरालाई पनि बोलाएर सही गराइयो। पछि थाहा भयो, त्यो त हाम्रो जग्गा खोस्ने योजना रहेछ।”
उक्त तमसुककै आधारमा अदालतमा मुद्दा पर्यो। २०७५ चैत १३ गते अदालतबाट वादी पक्षको पक्षमा फैसला भएपछि उनीहरूको दुई कट्ठा १६ धुर जग्गा कानुनी रूपमा अर्काको नाममा गयो।
सम्पन्न कुमार माझी भन्छन्, “हामी पढ्न–लेख्न जान्दैनौं। कानुन बुझ्दैनौं। हाम्रो वास्तविक कुरा अदालतसम्म पुग्न सकेन। गरिब भएकै कारण हामी अन्यायमा पर्यौं।”
जग्गा गुमेपछि उनीहरूको पीडा झन् बढ्दै गयो। उनीहरूका अनुसार अहिले पनि धम्की र दबाबको सामना गर्नुपरेको छ। आफ्नै घरआँगनमा बस्दा समेत असुरक्षित महसुस हुने अवस्था रहेको उनीहरू बताउँछन्।
“खुकुरी बोकेर आउने, घर खाली गर्न दबाब दिने, ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,” भागबती भन्छिन्, “आफ्नै घरमा बस्न डर लाग्छ। रातभर निद्रा लाग्दैन।”
उनको यो भनाइसँगै फेरि आँसु बग्न थाल्यो। केही क्षण उनी बोल्न सकिनन्। हलमा सन्नाटा छायो।
गरिबीले थिचेको परिवारसँग लामो कानुनी लडाइँ लड्ने आर्थिक क्षमता छैन। त्यसैले उनीहरू अहिले सञ्चारमाध्यम, मानव अधिकारकर्मी, नागरिक समाज र सम्बन्धित निकायको ढोका ढकढक्याइरहेका छन्।
पत्रकार सम्मेलनमार्फत उनीहरूले राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा कानुन व्यवसायीहरूलाई घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाइदिन आग्रह गरेका छन्।
भागबतीको एउटै प्रश्न छ— “यदि पैसा नै लिएको थिएन भने हामी किन ऋणी भयौं ? यदि हामीले जग्गा बेचेकै थिएनौं भने हाम्रो सम्पत्ति किन गयो ?”
उनको आँखाबाट झरेका आँसुहरू केवल एउटा व्यक्तिको दुःख थिएनन्। ती आँसुहरू गरिब र अशिक्षित नागरिकले न्याय खोज्दा भोग्नुपरेको कठिन यात्राका प्रतीकजस्तै देखिन्थे।
पत्रकार सम्मेलनको अन्त्यतिर भागबतीले हात जोड्दै भनिन्—
“हामी गरिब छौं, तर हाम्रो पनि सपना थियो। त्यो जग्गा हाम्रो जीवनको आधार थियो। हामी न्याय चाहन्छौं। सत्यको जित होस्। हाम्रो परिवार सडकमा पुग्न नपरोस्।”
उनको यो आग्रहसँगै हल फेरि एकपटक भावुक बन्यो। अब प्रश्न छ— भागबतीको आँसु र पुकार सम्बन्धित निकायसम्म पुगेर न्यायको ढोका खुल्छ कि खुल्दैन ? समयले नै यसको उत्तर दिनेछ।




