सिरहामा अवैध उत्खननविरुद्ध प्रहरीको कारबाही, १० टिपर र एक स्काभेटर नियन्त्रणमा
सिरहा । सिरहामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपोसार नियन्त्रण गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानबाट १० वटा टिपर र एक वटा स्काभेटर नियन्त्रणमा लिएको छ। संयुक्त सुरक्षा टोलीको कारबाहीपछि अवैध उत्खननमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिइएका हुन्।
प्रहरीका अनुसार गोलबजार नगरपालिका–३ स्थित गागन खोलाबाट ग्राभेलको अवैध उत्खनन तथा ढुवानी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो।
कारबाहीका क्रममा ग्राभेल लोड गरिएका आठ वटा टिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए। प्रहरी टोली पुगेपछि चालकहरू सवारीसाधन छाडेर फरार भएका कारण अन्य चालकको सहयोगमा ती टिपरहरू नियन्त्रणमा लिएर कार्यालयमा ल्याइएको उनले बताए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनका चालक तथा धनीहरू हालसम्म सम्पर्कमा आएका छैनन्।
यसैगरी सिरहा नगरपालिका–१३ गमहरियास्थित कमला नदी क्षेत्रमा पनि अवैध रूपमा बालुवा उत्खनन भइरहेको सूचनापछि प्रहरीले थप दुई वटा टिपर र एक वटा स्काभेटर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बुका अनुसार उत्खननमा प्रयोग भएका उपकरण तथा सवारीसाधन आवश्यक अनुसन्धानपछि नियन्त्रणमा लिइएका हुन्।
प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीसाधन तथा उपकरणहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई बुझाइएको जनाएको छ।
नदीजन्य पदार्थको अवैध उत्खननले वातावरणीय सन्तुलन बिगार्ने, नदीको प्राकृतिक बहावमा असर पुर्याउने तथा स्थानीय पूर्वाधारमा जोखिम बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने सुरक्षा निकायले जनाएको छ।
