सलकपुरमा २ करोड लागतमा पाथिभरा मन्दिर निर्माण, प्राण प्रतिष्ठापन आगामी बैशाख १८ गते हुने
एलएन गच्छदार
चैत्र २२ गते
मोरंग सुन्दरहरैंचा नगरपालिका वडा ८ सलकपुरको लोक मार्ग नजिकै रहेको पाथिभरा मन्दिरको प्राण प्रतिष्ठापन गरिने भएको छ। बिगत ३ वर्षदेखि निर्माण कार्य थालनी गरेको मन्दिर निर्माण समितिले नयाँ साल बैशाख १८ गते भब्य कार्यक्रम गरी प्राण प्रतिष्ठापन गर्ने जनाएको छ। मन्दिर निर्माण कार्यको अन्तिम चरणमा आइपुग्दा नगरपालिकाले समेत सो मन्दिरको अवलोकन गरेको छ। नगर प्रमुख केदार प्रसाद गुरागाई, उप प्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराई लगायातले अनुगमन समेत गरिएको थियो।

प्रदेश, स्थानीय सरकार तथा स्थानीय सरोकारवाला, सहयोगीदाताहरुको दान संकलनले मन्दिको निर्माण भएको पुर्व प्रदेश सांसद लोक प्रसाद संग्रौलाले बताए। उक्त मन्दिरको डिजाइन भने भारतको आसामका इन्जिनियरले बनाएको र यो बेग्लै आकर्षक कलात्मकढंगले निर्माण भएको छ भने आगामी बैशाख १८ गतेबाट ९ दिन सम्म प्राण प्रतिष्ठा हुनेछ । बैशाख २७ गतेबाट नेपालकै प्रसिद्ध कथाबाचक रामकृष्ण उपाध्यबाट बृहत देविभागवात पुराण हुने संग्रौलाले बताएका छन ।
ताप्लेजुंगकै माता पाथिभरा स्वरूपलाई उतारेको छ भने पाथिभरा देवीको मुर्ति २५ लाख लागतमा ल्याएको निर्माण समितिले जनाएको छ। लोकमार्ग नजिकै रहेको उक्त मन्दिरको कुल लागत २ करोड रहेको सो वडाका सदस्य तथा न्यायिक समिति सदस्य रोशननाथ उप्रेतीले बताए। नेपालमै बेग्लै कलात्मक शैली र लोकमार्ग नजिक रहेको यस्तो किसिमको मन्दिर पहिलो भएको उप्रेतीले दाबी गर्दै नगर र प्रदेशकै गौरब बन्ने विश्वास लिएका छन्।

पुर्वान्चल बिश्वबिधालय, बनजंगल समेत नजिक रहेकोले मन्दिरले राष्ट्रको गरिमा र नगरको इज्जत बढाएको स्थानीय कृष्ण भट्टराईको तर्क छ। त्यसै गरी उक्त मन्दिर निर्माण समिति उपाध्यक्ष तथा जग्गादाता समेत रहेका हिमालजंग खड्काले आफ्नी माताले पितृको नाममा राधेश्याम सेवा ट्रष्टलाई ४ कट्टा २ धुर उपलब्ध गराएको बताए। सेवा ट्रष्टका संरक्षक दिनबन्धु शास्त्रीसंग स्थानीय बासिन्दा, पाथिभरा माता भजन समूह लगयातले अनुरोध गर्दै सो जग्गामा पाथिभरा मन्दिर निर्माण तथा ब्यबस्थापन समिति गठन गरी निर्माण गरिएको खड्काले बताए।




