कानुनी रूपमा आयात गरिएको खरबुजाको बीउ जफत गरेको भन्दै झापाका व्यवसायी आक्रोशित

भद्रपुर । कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको चिनियाँ खरबुजाको बीउ प्रहरीले गोदामबाट जफत गरेको भन्दै झापाका व्यवसायी आक्रोशित बनेका छन्। बिलबिजकसहित सबै आवश्यक कागजात हुँदाहुँदै प्रहरीले गोदामको सटर फुटाएर सामान नियन्त्रणमा लिएको आरोप लगाउँदै उनीहरूले उच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्।

मंगलबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरूले प्रहरीले कानुनी प्रक्रिया मिचेर कारबाही गरेको दाबी गर्दै घटनाको निष्पक्ष न्यायिक परीक्षणको माग गरेका हुन्।

गत सोमबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त टोलीले भद्रपुर नगरपालिका–३ स्थित दुई गोदाममा छापा मारेर ९४८ बोरा (३७ हजार ९२० किलोग्राम) चिनियाँ खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। बरामद गरिएको बीउ भद्रपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

व्यवसायीका अनुसार उक्त बीउ माँ दुर्गा अर्डर सप्लायर्सले तेस्रो मुलुकबाट सबै कानुनी प्रक्रिया पूरा गरेर आयात गरेको हो। कम्पनीका सञ्चालक राजन थापा मगरले खरिद–बिक्रीको भ्याट बिल, आयातसम्बन्धी कागजात तथा राजस्व तिरेको प्रमाण हुँदाहुँदै प्रहरीले कारबाही गरेको बताए।

उनका अनुसार प्रहरी चौकी आपगाँछीका प्रहरी सहायक निरीक्षकले छापामार्नुअघि गोदामको चाबी मागेका थिए। आफू बाहिर रहेको र आवश्यक कागजातसहित आउन केही समय लाग्ने जानकारी गराउँदागराउँदै प्रहरीले गोदामको सटर फुटाएर सामान उठाएको उनले दाबी गरे।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमियाले सम्बन्धित व्यवसायीलाई उपस्थित गराएर कागजात परीक्षण गर्न सकिने अवस्था हुँदाहुँदै गोदामबाट सामान नियन्त्रणमा लिनु उचित नभएको बताए।

झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र घिमिरेले बिलबिजकसहितका सामानसमेत सुरक्षित नरहने अवस्था सिर्जना हुनु व्यवसायिक वातावरणका लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे।

संघका महासचिव सुमन मैनालीले व्यवसायीलाई उपस्थित नै नगराई सामान जफत गर्नु कानुनी शासनको मर्मविपरीत भएको बताए। व्यवसायी अदालत गए संघले संस्थागत रूपमा आवश्यक सहयोग गर्ने उनले स्पष्ट पारे।

यता, भद्रपुर–४ का वडाध्यक्ष हंशधर राजवंशीले जफत गरिएको सामान वैध वा अवैध भन्ने विषय निष्पक्ष अनुसन्धानपछि मात्रै निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *